आखिर सेलायौ नेहा

nehaकेही दिनअघि तिम्रा लागि अनगिन्ति मानव सागर उर्लिएको थियो । हरेक गाउँ, चोक, सहर, टोल अनि राजधानीमा पनि । हजाराँै पत्रपत्रिकाको भित्तामा तिमी सजियौ हरेक सञ्चार माध्यमद्वारा तिमी रंगियौ । लाखौँ करोडौँको फेसबुकको घरमा तिमी चर्चित बन्यौ । तिम्रो नाममा गीत लेखियो, तिम्रो नाममा कथाको जन्म भयो । सबैमा दया करुणा इज्जत आदि इत्यादि उब्जिएको थियो । तिम्रालागि साराले नारा लगाए तिम्रो नाममा जयजयकार मनाए । केवल केही दिनमै केही क्षणमै फेरि तिम्रो नाम सबैको मानस पटलबाट हराए÷मेटिए । तर, नेहा पुन तिमी खुसी बन । तिम्रो विवशता, तिम्रो पीडा धेरैले बुझे । असंख्यले तिमीलाई महसुस गरे, लाखौँको मन मस्तिष्कमा थोरै समयका लागि भए पनि तिमीले स्थान लियौ । माया पायौ तिमी परलोक नै गएता पनि सबैले तिमीलाई हृदयमा राखेर मनन गरे । त्यो त तिम्रो घरपरिवार, तिम्रो समाज अनि लाखौँ मान्छे अनि तिम्रो आत्मालाई पनि थाहा नै छ हैन र ?

त्यसैले तिमी खुसी बन तिम्रालागि न्यायको भिख माग्ने लाखौँ छन् तिम्रालागि । बोली दिने करोडौँ छन् तिमीले अवश्य एक दिन न्याय पाउनेछौ । तिमीलाई त्यो स्थितिमा पु¥याउने अपराधी खोरमा परिसकेको छ तिमीले आफैँलाई भाग्यवानी सम्झ ल ।

neha1तिमीलाई आश्चर्य लाग्छ होला, ‘म कसरी भाग्यशाली ?’ भनेर । तिमीलाई आश्चर्य लाग्नु स्वाभाविक पनि हो । मैले के भन्न खोजिरहेको छु त्यो तिमीलाई थाहा छैन । तिमीलाई मात्र होइन धेरैलाई थाहा नहुन सक्छ मैले भन्न खोजिरहेको कुराहरू । सबैलाई भनौँ पनि म कसरी । भोलिका दिनमा फेरि मेरो नाममा कलो झन्डा निकालिन बेर छैन । ज्यानमारा बलत्कारीलाई साथ दियो भनेर उल्टो अर्थ लगाई मेरो तस्बिरमा कालोमोसो लगाई भालाले रोपिन पनि बेर छैन । तर, नेहा मैले तिमीलाई कुनै आरोप लगाउन खोजेको पनि होइन । तिम्रो चरित्रमा शंका गरेको पनि होइन । अनि, त्यो नालायक जनावरको पक्ष त झन बिल्कुलै लिन खोजेको होइन । त्यसको नामसमेत म लिन चहान्नँ त्यसैले मैले त्यसको नाम कुनै ठाउँमा समावेश गरेकी छैन । त्यस्तो पापी दुष्टको नाम समावेश गरेर तिमीप्रतिको मेरो यो भावनालाई (छोटो मनोवाद)लाई म अपवित्र पार्न चहान्नँ पनि । यदि तिम्रो आत्मालाई मप्रति कुनै दुःख मन भए माफ गर ।

तिमी त एउटा पढेलेखेकी केटी हौ । तिमी जवान पनि हौ, तिमी एउटा कलाकार पनि । तिमीले तिम्रो धर्म दाजुसँगको नातालाई किन छुपायौ तिम्रो आफ्नै जन्म दिने आमासँग । त्यो मलाई ठीक लागेन । यदि तिमीले पहिले नै तिम्रो आमासँग आफन्तसँग चिनजान गराइदिएको भए उनीहरूलाई यति धेरै आघात हुने थिएन । तिम्रो आमाको भनाइहरू मैले सुनेँ, मलाई अझ बढी दुःख लाग्यो । उहाँले भन्नुभयो, ‘मेरी छोरी अब बोल्न सक्दैन जसले जे भनेर आरोप लगाए पनि हुन्छ । तर, मलाई विश्वास छ मेरी छोरी नराम्रो नियतिमा नराम्रो मार्गमा हिँडेकी थिइनँ, उनी त्यस्तो मान्छे पनि होइन । आजसम्म त्यो मान्छेलाई मैले देखेको पनि छैन । त्यो राम्रो मान्छे धर्म दाजु थियो भने त मेरो घरमा आइहाल्थ्यो नि । आजसम्म कहिल्यै आएको पनि छैन ।’ तिमीप्रति वहाँलाई कति विश्वास थियो तर तिमीले धेरथोर जति नै भए पनि आमालाई विश्वासघात चाहिँ गरेकी थियौ नि, हैन ?

neha4पत्रपत्रिकामा पढेर थाहा भयो प्रायः तिमी त्यही मान्छेसँग घर जान्थ्यौँ रे तर करेसासम्म जाँदा पनि किन के कारणले तिमीले त्यसलाई कहिलै घर लगेनौ ? अनि, तिम्रो आफन्त अनि स्ययं आफ्नै आमालाई समेत चिनाएनौँ । त्यसमा पक्कै तिम्रो पनि केही कमजोरी त छ नै होला । माफ गर नेहा मैले तिम्रो चरित्रमाथि प्रश्न गर्नु खोजेको हैन, सिर्फ तिम्रो कमजोरी मात्र औँल्याउन खोजेको हो । भोलि गएर अरू दिदीबहिनीले आफ्नो धर्म दाइभाइ, काका, मामा, बाबाबाट यस्तो भोग्न नपरोस् भन्ने मनसायले म तिमीसँग यो कुरा गर्दैछु अन्यथा नसोच मलाई माफ गर ।

तिमी त पढेलेखेकी जवान केटी हौ । कति चेलीबेटीहरू अवोध बालिकासमेत आफ्नै घर आफ्नै गाउँ समाजमा दिनहुँ आफ्नै काका, मामा, बाउ, दाजु, भाइ र छिमेकी नातागोता, प्रेमी यस्तै अनेकौँ अजिव मानवरूपी जवानबाट बलात्कृत भएको त्यसपछि हत्या भएको, कुटपिट भएको, अंगभंग भएको, अनेकौँ शारीरिक मानसिक शोषण भएको तिमीले पनि सुनेको नै थियौ । तिमीभन्दा केही दिन पहिले पनि त कसैको हत्या भएको थियो त । तिम्रै त्यो गाउँ समाजमा हैन र ? तिमी त कुनै दुर्गम गाउँमा हुर्केकी छोरीचेली पनि होइनौ साथै अनपढ पनि त होइनौ नि ! हैन र ? तर तिमीजस्तोले त त्यस्तो जनावरको विश्वास गरी तिनीहरूको पञ्जामा परेर फुस्कन सकेनौ । जालमा बेरियौ, निस्कन सकेनौ । खाल्डोमा प¥यौ, उत्रन सकेनौ । तिमी आपैmँ भन– यो हाम्रो गाउँ समाजमा कति नारीहरू अनपढ अशिक्षित छन् । झन् तिनीहरूको दुर्दशा कस्तो होला ? कति असहनीय होला ?

विश्वासको पनि सीमा हुन्छ नेहा । तर, तिमीले सीमापार गरेर परिधी नाघेर त्यस्तो हत्यारा जनावरलाई विश्वास गरेकी रहेछौ । तिम्रो फेसबुकमा भएको फोटोहरू र तिम्रो केही लेख्ने शैलीमार्फत मैले थोरै भए पनि बुझ्ने मौका पाएँ । कि तिमीले त्यो पापिष्टलाई हद नै विश्वास गरेकी थियौ भन्ने । यदि तिमीमा थोरै मात्र विश्वास कम थियो भने पनि तिमीले यस्तो बेहोर्न पर्ने थिएन कि ! तिम्रो ऊप्रतिको विश्वासको भावनाले चरमबिन्दु नै पार गरिसकेको थियो । त्यसैले तिमी त्यो पशुले जहाँ बोलायो त्यहाँ रातविरात नभनी खुरुक्क गयौ । तिमी एक्लै जवान नारी थियौ त्यहाँ भने ४÷५ जना जवान पिपासुहरू थिए । त्यहाँ तिमीले अलिकती मात्र डर राखेकी थियौ भने थोरै मात्र शंकोच मानी निस्केर हिँडेको थियौ भने पनि आज तिम्रो घरपरिवार आफन्त र तिम्री एक्ली आमा अनि यो समाजले यति धेरै तिम्रो खातिर वियोगको आँशु झार्न, रिसले दाह्रा किट्न अवश्य पनि पर्ने थिएन ।

तिमी त आखिर गयौ सबैलाई छोडेर मानौँ केही क्षण तिमीलाई कठोर भयो होला त्यो पापी दैत्य राक्षसको तर केही पलको छट्पटाइपछि केही क्षणको दुखाइपछि तिमी त गयौ परलोक । तर, तिम्रो कारणले हामी यो लोकमा बस्नेलाई अभैm सहन गाह्रो भएको छ, बिर्सने कठिन परेको छ । तिम्रो बास्तविकता र तिम्रोबारे सुन्दा हामीलाई त यस्तो आघात भयो भने तिम्रो घरपरिवार आफन्त मान्यजनको के हाल होला ? तर, तिमीले अवश्य न्यायनिसाफ पाउने छौ तर अपसोच तिम्रो त्यो सुन्दर जीवन फेरि तिमीले पाउने छैनौ । तिम्रो आमाले फेरि वहाँको कान्छी छोरी नेहा पाउनुहुने छैन । तिमी त कलाकार थियौ । तिमी सहर बजारमा हुर्केकी थियौ । त्यही भएर तिम्रो न्यायका लागि मानवसागर उर्लियो । अनेकौँ सञ्चारमाध्यमद्वारा सबैको कानमा, सबैको आँखामा, सबैको मनमा पुग्यो । तर, कति छन् तिमीजस्तै गरी आफ्नो इज्जत, शरिर गुमाउनेहरू । न त उनीहरूले न्याय निसाफ नै पाएको छन्, न त तिमीजस्तो सबैसामु पुगेका छन् । न त उनीहरूको न्याय निसाफको लागि कोही बोली दिएका छन् । जो नारीहरू, जो चेलीहरू, जो अवोध बालिकाहरू कयौँको शरीर माटोमा मिल्यो त्यही माटोसँगै न्यायनिसाफ पनि माटोमा नै मिल्न विवश बने खोई को बोल्ने ? कसले खोज्ने अधिकार अनि न्याय ? जो समाजमा राम्रो कुराका लागि आवाज उठाउन खोज्छ भोलि त्यसैको शरीरको चरित्रको हत्या भइरहेको हुन्छ । यो समाजमा जो जायज कुरा गर्न चहान्छ उसको खनीखोत्रो उतारिन्छ ।

neha2यो समाजमा जो एउटा नारी स्वच्छ पवित्र भावनाले व्यवहारले कुनै कुरामा अग्रसर हुन चाहान्छे एउटा कुखराको पोथीसँग ऊ दाँजिन पुग्छे । एउटा स्त्रीलाई पोथी बनाइन्छ अनि अन्तमा पोथी बासेको राम्रो हुँदैन भन्दै विभिन्न आलोचनाको पात्र बनाइन्छ । त्यही समाजमा नारी देवी हो सरस्वतीको प्रतिरूप हो पवित्र गंगा हो भन्दै अनेकौँ नामकरण दिइन्छ । त्यही समाजमा त्यो नारी छोरी, सासु, बुहारी, दिदी, बहिनी, श्रीमती, भाउजु, नन्द, आमाजु सबै हुन्छे अन्तमा गएर आमा बन्छे तर त्यही समाजमा ऊ दाइजोको नाममा, बोक्सीको नाममा कुटिन्छे, काटिन्छे । गाउँ समाजबाट बहिष्कृत हुन्छे, बलात्कृत हुन्छे । अंगभंग हुन्छे अनि आफ्नो देहलीला समाप्त गर्छे । तर, कसैले उसको लागि आवाज उठाउन न्यायनिसाफ माग्न त परै जाओस् लाश बोकेर लैजाने मान्छेसमेत पाउन गाह्रो हुन्छ ।

मलामीको त कुरै नगरौँ, यो सब हुनमा सबै स्वार्थको कारणहरू समेटिएको छ । कारण ऊ कुनै कलाकार होइन, ऊ कुनै चर्चित व्यक्ति होइन । ऊ साधारण परिवारको छोरीचेली, श्रीमती, बुहारी, आमा इत्यादि हो । तर, नेहा तिम्रालागि त सबैले आवाज उठाए नि हैन ? तिमीलाई त्यो मोडमा पु¥याउने त जे भए पनि प्रहरीको कब्जामा त छ हैन र ? कतिको चेलीबेटीहरू तिम्रोजस्तो मोडमा पुगेर उनीहरूको देहलीला समाप्त गरे । अभाग्यवस भनौँ आजसम्म कसले लुटे, अंगभंग बनाए, मारिए केही पत्तो छैन । विचराहरूको आत्मा कति कराई चिच्याइरहेको होला । तर, कसले सुन्ने उनीहरूको चित्कार कसले बुझ्ने उनीहरूको पुकार ।

neha3तिमी त धेरै भाग्यमानी रहेछौ । आफूलाई तिमी भाग्यमानी ठान किनकि तिम्रा लागि असंख्य मानवसागर उर्लिएका छौँ । तिम्रालागि कयौँ शुभचिन्तक छौँ । तिम्रो न्यायनिसाफका लागि आवाज उठाउनेहरू पक्कै पनि तिम्रो आत्माले देखिरहेको छ, हेरिरहेको छ नि हैन र ? अब तिमी धेरै शिक्षित पढेलेखेका गाउँ सहरभरि एउटा उदाहरण बन्ने छौ र बनेकी पनि छौ । त्यती धेरै लीन÷लिप्त भएर कसैको पनि विश्वास गर्नु हुँदैन र जसले जता बोलायो त्यता एक्लै छोरी मान्छे जानु हुँदैन भनेर फेरि यो वाक्यलाई पनि यो समाजले गलत अर्थ लगाउन खोज्ने छ । छोरी मान्छेचाहिँ के जहिलै एउटा बन्धनमा बाँधिएर बस्नुपर्ने स्वतन्त्र भएर हिँड्न नपाउने ? आदि इत्यादि तर मैले त्यस्तो भन्न त कहाँ खोजेको हो र । जुन गाउँ समाजमा, जुन राष्ट्रमा देशमा मानवअघिकार को त कुनै औचित्य छैन भने त्यहाँ कुनै स्त्रीको सम्मान गरिँदैन त्यो समाजमा कसैको जिउज्यानको सुरक्षा छैन । कुनै दह्रो नियमकानुन नै पारित छैन भने जहाँ नातावाद, कृपावाद, पुँजीवाद आदि इत्यादि मात्र पारित हुन्छ भने किन स्वतन्त्रता खोज्ने ? पुरुषप्रधान देश हो भने महिला पनि पुरुष समान हो भनेर किन दाँजिन खोज्ने ? महिला पुरुषमा समानता आफ्नालागि बोलेर कराएर मात्र हुँदैन । एउटा कागजको टुक्रा लेखेर अल्मलाएर हुँदैन । एउटा गाउँ एउटा समाजमा मात्र त्यसको उपयोग गरेर नियम र परिधिमा बाँधेर हुँदैन ।

कसैलाई परिबन्ध र करकाप डरत्रासमा राखेर हैन व्यक्ति आफसेआफ नारी सम्मानप्रति झुकाव हुन जरुरी छ । नारीहरू मुर्ख व्यभिचारी कलंकित मानवरूपी धूर्त दानव पापी पुरुषहरूको गिद्दे नजरको सिकार बनिनु हुन्न । हामी सबै नारीहरू एकजुट हुन जरुरी छ सिर्फ एकजना शिक्षित सहरीया कलाकार पुँजीपति सम्पन्न घरपरिवार राजनीतिज्ञहरूको नातेदार ठूलाबडा हाकिम कर्मचारीको छोरीचेलीको लागि मात्र हैन हरेक गरिबदुःखि निमुखा पिछडिएका छोरीचेलीको लागि पनि एकजुट भएर नारा लगाऔँ महिला मुक्तिका लागि ।

(बुधबारे–५ झापा, हाल यूके)

प्रतिक्रिया