छिमेकी मुलुकका पर्यटक प्रबद्र्धन

anchoring copyकाठमाडौं, ५ फागुन । बंगलादेशका पर्यटन व्यवसायीले नेपालको पर्यटन प्रबद्र्धनका लागि छिमेकी मुलुकलाई गन्तव्य बनाइनुपर्ने बताएका छन् । विश्व पर्यटन बजारमा नेपाली पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा अब अन्य विकसित मुलुक नभई छिमेकी मुलुकलाई नै प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ । बंगलादेश फाउन्डेसन अफ टुरिजम डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजु इक्युरामले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताजस्ता विशेषताले पर्यटन बजार विश्व बजारमा सम्भावना रहेको बताए ।

‘हामी आज पर्यटक भित्र्याउने भनेर युरोप र अमेरिकालाई मात्रै लक्षित गर्छौँ । तर आफ्नै छिमेकी मुलुकलाई हेर्दैनौँ, छिमेकी देशबाट उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिन्छ,’ उनल भने ।

विश्वमा हल्ला भएजस्तो भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा कुनै असर नपरेको र यहाँको सुन्दरतामा अझै आयाम थपिएको बताउँदै कार्यकारी अधिकृत राजुले पर्यटन प्रबद्र्धनका लागि बंगलादेश र नेपालले आपसमा पुलको काम गर्नुपर्नेमा जोड दिए । बंगलादेश मिडिया लिमिटेडका सिइओ सयद इस्तिकी रेजा इकतरले नेपालको पर्यटकीय सम्भावनालाई मध्यनजर गरी प्रबद्र्धनात्मक कार्यका लागि दुई देशबीच समन्वयका साथ काम गर्न जरुरी भएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा पुगेको र पर्यटकको पर्खाइमा रहेको जानकारी दिए । नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पर्यटनको क्षेत्रीय हब बन्ने दरिलो आधार खडा भएको उनको भनाइ छ ।

बंगलादेशका पर्यटन व्यवसायी ‘टुर’ अप्रेटर र मिडियासहितको टोलीले केही दिनअघि नेपालका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो । काठमाडौं, पोखरा, चितवन र लुम्बिनीको अवलोकन भ्रमण गरी उनीहरूले नेपाली पर्यटन निकायसँग अनुभव आदनप्रदान गरेका थिए । सहभागी अन्यले पनि भूकम्पबाट नेपालको पर्यटनको सुन्दरतामा कुनै असर नपरेको बताए ।

आयोजक अभिवादन होलिडेका सिइओ उमेश गुप्ताले नेपालको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा रहेको र छिमेकी देश मात्र नभई विश्व बजारमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले बंगलादेशी टोलीलाई अवलोकन भ्रमण गराइएको जानकारी दिए ।

प्रतिक्रिया