राजनीतिलाई समाज सेवा बनाऔँ

prakash copyकुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरूपमा संचालन गर्नकालागी राजनीतिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापीका, कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधीत्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपूर्ण भुमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त राख्न, शुसासन कायम गर्न समेत सक्षम राजनैतिक नेतृत्व दिने नेताहरूको जरुरत पर्दछ । त्यसैले राजनीती वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिडाउने वा डोराउने साधन हो भन्न सकिन्छ ।

अहिलेको युग जटिल सामाजिक संरचना भएको युग हो । यसलाई व्यवस्थितरूपमा समयसापेक्ष अगाडी बढाउन, समाजमा रहेका तमाम वर्गहरूको जीवन निर्वाहलाई सरल एवं सहज बनाउन राज्य संयन्त्र चुस्त, जनउत्तरदायी, क्रियासिल, जनमुखी, विकाशप्रेमी, विकेन्द्रिकृत, न्यायिक, सहभागितामुलक, प्रजातान्त्रिक, पारदर्शी, भष्ट्राचारमुक्त, सेवामुखी हुनु आवस्यक छ । कुनै पनि देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनीतिक गतिविधिमा निर्भर गर्दछ । राजनीतिनै देश निर्माण गर्ने महत्वपुर्ण औजार वा साधन हो ।

यसलाई राज्यको हरेक पक्षको विकास गर्ने माध्यमको रूपमा लिईने हुनाले यसलाई देशको मेरुदण्ड, जीवनरक्तको रूपमा लिन सकिन्छ । वास्तवमा राजनीतिलाई जनताको सेवा गर्ने शुद्ध सामाजिक सेवाको रूपमा जव सम्म हेरिदैँन, यसलाई केवल व्यक्तिगत आय आर्जनको माध्यमको रूपमा लिन खोजिन्छ तव सम्म देशमा जुनसुकै राजनैतिक व्यवस्था, राजनैतिकवादहरू आए पनि यसले खासै समाज र जनताको जीवनस्तर र जीवनचर्यामा खासै ठुलो महत्व राख्न सक्दैन ।

नेपालको ईतिहासलाई एकपटक फर्केर हेर्ने हो भने वि.सं. २००७ साल देखि धेरै परिवर्तनहरू पटक–पटक भएको पाउन सकिन्छ तापनि जनताको जीवनस्तर, सामाजिक सांस्कृतिक परिवर्तनहरू खासै उल्लेखनियरूपमा हुनसकेको हामी देख्न सकिरहेका छैनौँ । मुलतः जे जति राजनीतिक परिवर्तनहरू भयो त्यस पश्चात परिवर्तनको लागि नेतृत्वदायी भूमिका खेलेका राजनैतिक दल र नेताहरू इमान्दार एवं जनउत्तरदायी भएर जनताको विकास, निर्माणको काममा समर्पित हुनुभन्दा बढी कसरी व्यक्तिगतरूपमा आफ्नो आय आर्जनमा वृद्धी हुन्छ, कसरी आफ्ना सन्तती, परिवार, नातागोता, भाईभतिजाहरूको व्यक्तीगत जीवनलाई आर्थिकरूपले माथी उठाउन सकिन्छ त्यसतर्फ नै बढी ध्यान केन्द्रित गरेको प्रष्ट देख्न सकिन्छ ।

देशभित्रै वा छिमेकी देशहरूसँग राष्ट्रिय महत्व राख्ने किसिमका सन्धीसंझौता, करारहरू जे जति भए ती देश र जनताको हित भन्दा पनि व्यक्तीगत लाभ र सत्ता टिकाईरहने, कुर्ची जोगाई रहने कामको लागी दुरूपयोग गरेको पाईन्छ । राजनीतिक परिवर्तन गर्ने संघर्षको बेलामा एकदमै राष्ट्रप्रेम, जनहित र समनातामुलक समाजको निर्माणमा लाग्ने भाषणहरू र नाराहरू सडक र गाउँबस्तीहरूमा चर्कोरूपमा घन्काउने र राजनैतिक परिवर्तन भएर सत्तामा पुगिसकेपछि स्वाट्टै सबै कुरा भुलेर आफ्ना आसेपासे र आफ्नो जीवनलाई केन्द्रमा राखेर दाम कमाउन जस्तोसुकै काम गर्न र राष्ट्रलाई बन्धक बनाउन पनि पछि नपर्ने चलन चलिआएको छ, अझै सम्म यो प्रवृती प्रायः सबै राजनीतिक दलहरूमा हावी रहेको हाम्रो अगाडी घाम जस्तो छर्लंग छ ।

यो सबै हुनुमा राजनैतिक नेताहरूको सोच र दृष्टिकोण राजनीतिलाई समाज सेवाभन्दा पनि नाफामुखी व्यवसाय वा पेशाको रूपमा अँगाल्दै आएकोले हो भन्ने प्रष्ट आधारहरू देखिन्छन् । जव सम्म राजनीतिलाई कमाई खाने पेशा वा व्यवसायबाट शुद्ध समाजसेवाको रूपमा नेताहरूले व्यवहारमा आत्मसाथ गर्दैनन् तव सम्म जतिसुकै ठुलो राजनैतिक परिवर्तन भएपनि हुनेवाला केही छैन ।

यो कुरा साँचो हो की राजनैतिक पद सम्भालेको मान्छेले पनि जीवन निर्वाह गर्न आर्थिक आय आर्जन हुनु जरुरी छ तर देशको जिम्मेवार पदमा बसेका व्यक्तीहरूलाई उपलब्ध गराईने तलव, भत्ता, पारिश्रमिक, सेवासुविधा अन्तर्गत रहेर जिम्मेवार भएर कानुनी मर्यादामा रहेर काम गर्नु पर्छ भन्ने सबैको मान्यता र अनुरोध हो । पदिय हैसियतलाई दुरूपयोग गरेर आयआर्जन गर्ने काममा लाग्नु, पदीय अनुशासन भंग गर्नु, आर्थिक नैतिक भ्रष्ट्रचार गर्नु हुँदैन यसले देशलाई अधोगति तर्फ धकेलिरहेको छ मात्र भन्न खोजीएको हो ।

राजनीतिमा लाग्नेहरूले अनिवार्यरूपमा सहायक पेशा वा व्यवसाय अंगालेको हुनु जरुरी छ । यदी कुनै पनि राजनीतिमा लागेको व्यक्तीसँग जीवन निर्वाहको लागी कुनै पेशा वा व्यवसाय छैन भने स्वाभाविकरूपमा उसले कुनै राजनैतिक लाभको पद पायो भने पदिय दुरूपयोग गरि आयआर्जन गर्न खोज्ने संभावना बढी रहन्छ ।

त्यस्तै संसद लगायत स्थानिय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचार प्रसारमा गरिने खर्चले समेत पछि निर्वाचन जितेर पदमा आसिन भईसकेपछि पहिला चुनाव लड्ने समयमा गरिएको खर्च उठाउन समेत पदिय दुरूपयोग गर्ने प्रमुख कारक तत्व बन्न गएको देखिन्छ । यस्तो गतिविधिलाई रोक्नको लागी चुनावमा प्रतिस्पर्धा गर्दा गरिने खर्चको सिमा जुन तोकिएको हुन्छ यसलाई निर्वाचन आयोग लगायतका निकायहरूले कडाईका साथ नियन्त्रण र नियमन गर्नु पर्ने हुन्छ ।

‘राजनीति गर्नु जोगी हुन होईन’ भन्ने जुन भनाईहरू यदाकदा सुन्नमा आउँछ, वास्तवमा कोही पनि जोगी बन्न राजनीतिमा लाग्दैन तर यदी नाफै कमाउने र छिटो छरितो व्यक्तिगतरूपमा आर्थिक समृद्धि गर्ने हो भने व्यापार व्यवसायमा लाग्नु आवस्यक हुन्छ । हुन त नेपालमा प्रायः नेताहरू सत्तामा पुगे पछि जोगी त होईन अकुत सम्पतीका मालिक बनेका छन्, देश भित्र मात्रै नअटाएर विदेशमा समेत लगानी गर्ने, विदेशी बैंकहरूमा जम्मा गर्ने र बुढ्यौली जीवन विदेशमै बिताउने समेत गरेको पाईन्छ ।

अकुत धनरासी भ्रष्टाचार गरेर जेल जीवन बिताएर फेरी राजनीतिमा नै फर्केका र जनताले तिनै नेतालाई समर्थन गरेर हिडेको, जेलबाट निस्कदा फुलमाला, अविरले स्वागत गरेको दृश्यहरू समेत नौलो छैन । यसरी हेर्दा कता हो कता नेताहरूलाई भ्रष्ट बनाउन हामी जनताले नै उक्साई पो रहेका छैनौ भन्ने प्रश्नहरू पनि उठ्न सक्छ, हैन भने भ्रष्टाचार गरेर अकुत सम्पती कमाएको सार्वजनिकरूपमै थाहाँ हुदाँ हुँदै किन पटक–पटक चुनावमा निर्वाचित गरेर पठाउँछौ ।

किन प्रतिस्पर्धाबाट जागिर खानु भन्दा नेताको चाकरी गरेर जागिर खान लालयित हुन्छौँ । किन व्यक्तिगत अपेक्षाहरू र मागहरू पुरा गर्न मन्त्री, सांसदको डेरा चाहर्छौ, किन लेबीको नाममा राजनैतिक पार्टीहरूले मन्त्री, सांसदहरूसँग चर्को रकम माग गर्छौँ । सत्तामा हुदाँ किन दरवार स्वरूपका पार्टी मुख्यालयहरू बनाउने काममा लाग्छौ । किन राज्यका जिम्मेवार निकाय, विदेशी कुटनीतिक क्षेत्रमा राजनैतिक भागबण्डाबाट नियुक्ती गर्न रडाको मच्चाउँछौ । यी सबै खाले काम वास्तवमा नेताहरूलाई भ्रष्ट हुन अभिप्रेरित गर्ने पृष्ठपोषणको काम हो ।

यसैले यदी नेता भएर जनताको सेवा गर्ने हो भने काठमाडांै र विदेशमा महंगो महल ठड्याउने सपना हैन जनताको झुपडी सजाउने सपना देख्नु पर्दछ । राजनीतिलाई व्यापार, व्यवसाय वा पेशा हैन सामाजिक सेवाको रूपमा हेरिनु पर्छ र परिभाषित गरिनु पर्छ अनि सोही किसिमको व्यवहार लागु गरेर जनतालाई देखाउनु पर्छ । तव मात्र राजनीतिले देश निर्माण र विकास हुन सक्छ अन्यथा यो क्षेत्र अहिलेकै अवस्थामै रहेमा जतिसुकै राम्रो संविधान र कानुन बने पनि जस्तोसुकै राजनीतिक परिवर्तन भएपनि हुनेवाला केही छैन ।

साँच्चिकै देशमा विकासको गतिलाई द्रुतरूपमा अगाडी बढाउने हो भने राजनैतिक नेताहरूले राजनीतिलाई समाजसेवाको रूपमा काम गर्ने र जसले भ्रष्टाचार गर्दछ त्यसलाई हदै सम्मको कानुनी कार्वाही गर्ने व्यवस्था हुनु पर्दछ । यदी सरकारी वा सार्वजनिक संस्थाका कर्मचारी र कुटनीतिक नियोगमा काम गर्ने व्यक्ती भए सधैको लागी सरकारी वा सार्वजनिक सेवामा कार्य गर्न वंचित गर्दै जेल सजाय र आर्थिक दण्डसजाय गर्ने, सांसद, मन्त्रीहरू वा अन्य राजनैतिक पदहरूमा कार्यरतले भ्रष्टाचार गरेमा जेल सजाय, आर्थिक दण्ड सजाय एवं पुन राजनितिक पदमा चुनिन पाउने अवसरबाट सधैका लागी बन्देज गर्ने कानुनी व्यवस्था हुनु पर्दछ ।

यसो हुनसकेमा कर्मचारीहरू तथा राजनीतिक नेताहरूको आचरण र व्यवहारमा सुधार आउन सक्ने र कुनै पनि व्यक्ती राजनीतिलाई व्यवसाय वा पेशाको रूपमा अंगिकार गरि उक्त क्षेत्रमा पाईला नराख्ने केवल यसलाई सामाजिक सेवाको रूपमा आत्मसात गरेर मात्र यो क्षेत्रमा पाईला राख्ने वा क्रियासिल रहने अवस्था बन्न सक्दछ ।

प्रतिक्रिया