अलैंची व्यवसायी महासंघको अध्यक्षमा निर्मल

खोटाङ, ५ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको अध्यक्षमा निर्मल भट्टराई निर्विरोध निर्वाचित भएका छन् । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा मंगलबार सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनले भट्टराईलाई सर्वसहमतीमा अध्यक्ष चयन गरेको हो । ‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नाराका साथ हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा सम्पन्न महाअधिवेशनले वरिष्ठ उपाध्यक्षमा दीपक नेपाल, विधागत उपाध्यक्षहरूमा कृषितर्फ राजकुमार कार्की र वाणिज्यतर्फ सुमन श्रेष्ठलाई चयन गरेको छ । यस्तै, महाचिवमा ओमकृष्ण विमली, सचिव इन्द्रचन्द्र विन्दल र कोषाध्यक्षमा सुवाश भट्टराईलाई सर्वसहमतीमा चयन गरेको छ ।

महासंघको सदस्यमा पार्वती पोखरेल (विमली), गणेश ढकाल, भरत चौधरी, इन्द्रसुन्दर लावती, निमेश मित्तल, नरेन्द्रराज अधिकारी, मातृकाप्रसाद घिमिरे र अम्बरबहादुर तामाङ रहेका छन् । यस्तै, अञ्चल प्रतिनिधिमा अर्जुन चुडाल मेची, अमृतबहादुर सुवेदी कोसी, वीरेन्द्र राय यादव बागमती, अनिलकुमार तामाङ जनकपुर र मानप्रसाद धिताल गण्डकी रहेका छन् ।

महासंघको महाअधिवेशन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र विशिष्ट सदस्य भाष्करराज राजकर्णीकारले सोमबार उदघाटन गरेका थिए । महाअधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैंचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गरेको छ ।
महाअधिवेशनमा १३ जिल्लाका पाँच÷पाँच जना र संस्थापक केन्द्रीय समितिकागरी १५० प्रतिनिधिको सहभागिता रहेको थियो । महाअधिवेशनमा सहभागिताका लागि खोटाङ बाहेक ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, ते¥हथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, दोलखा, काभ्रे, गोरखा र लमजुङका अलैंची व्यवसायी हलेसी आएका थिए ।

मूलुकका २२ भन्दा बढी जिल्लामा अलैंची खेती हुँदै आएपनि महासंघले हालसम्म १३ जिल्लामा मात्र आफ्नो शाखा बिस्तार गर्न सफल भएको छ । महाअधिवेशनमा सहभागी अलैंची व्यवसायीले रोग, सुकाउने भट्टी, संकलन केन्द्र, चन्दा लगायतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । मसलादार बाली मानिने अलैंची वि.सं. १८३० को दशकमा सिक्किमबाट बिरुवा ल्याएर ईलामको जोगमाईमा खेती सुरु गरिएको मानिन्छ ।

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको महासंघको एक हजार एकसय भन्दा बढी सदस्य तथा मूलुकभर एक लाख बढी अलैंची किसान छन् । आम्दानीका हिसाबले नेपालमा सबैभन्दा बढी मुल्य पर्ने र धेरै मात्रामा निर्यात हुने बालीका रूपमा रहेको अलैंची खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया