‘भ्रमण सफल हुन्छ’

ranjit rey copyकाठमाडौं, ५ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ७ फागुनबाट हुने भारत भ्रमण सफल हुने बताएका छन् । उनले प्रधानमन्त्री ओलीको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ बन्ने पनि दाबी गरका छन् ।

बुधवार एक साक्षात्कारमा राजदूत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको बताउँदै दुई मुलुकवीचको पछिल्लो अवस्थाले भ्रमणको महत्व अझै बढाएको बताए ।

‘पछिल्लो समयमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ’, साक्षात्कारमा उनले भने, ‘नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फ्रुटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’

राजदूत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गरे । ‘हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भुकम्प पछिको पुर्न्र्निर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौँ’, उनले भने ।

नयाँ दिल्ली र मम्बईमा आर्थिक क्षेत्रसँग अन्र्त्क्रिया हुने जानकारी दिँदै दुई देशको सम्बन्ध आर्थिक विकास र साझेदारीमा केन्द्रीत भए दुबै मुलुकको हित हुने धारणा उनको थियो । राजदूत रेले प्रगाढ सम्बन्ध भएका दुई मुलुकवीच अलिअलि समस्या आउनु स्वभाविक भएको भन्दै सम्बन्धको आधार सकारात्मक भएकोले यसलाई आफूहरू अझै बलियो बनाउने पक्षमा रहेको बताए ।

उनले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुनर्निर्माणको विषयमा ठोस धारणा आउने भन्दै सीमासुरक्षा लगायतका विषयलाई कानूनी रूप दिने विषयमा पनि छलफल हुने स्पष्ट पारे । राजदूत रेले सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारी र सुरक्षा प्रमुखवीच भइरहेको छलफल सकारात्मक भएको भन्दै पछिल्लो समयमा बढेको तस्करी आपूर्ति सहज भएपछि आफै अन्त्य भएर जाने दावी गरे । उनले नेपालले गठन गरेजस्तै प्रवुद्ध समूह भारतले पनि छिट्टै गठन गर्ने जानकारी दिँदै त्यसले दुई मुलुकबीचका समस्यालाई संबादबाट सकारात्मक दिशामा अघि बढाउने विश्वास ब्यक्त गरे ।

राजदूत रेले नेपालमा प्रदेशहरूको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या संबादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपि उनले यी विषय नेपालको आन्तरिक मामिला भएको उलेख गरे ।

यस्तो छ भ्रमण तालिका

काठमाडौं, ५ फागुन । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

७ फागुनमा भारत प्रस्थान गर्ने प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा स्टेट गेस्टको हैसियतमा रहने छन् । सोही दिन प्रधानमन्त्री ओली नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।

८ फागुनमा प्रधानमन्त्री ओलीले राजघाटमा रहेको महात्मा गान्धीको समाधीस्थलमा पुगेर गान्धीलाई श्रद्धाञ्जली दिने छन् । त्यही दिन प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा औपचारिक भेटघाट गर्ने छन् । उनी भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको सम्मानमा दिएको दिवा भोजमा सहभागी हुनेछन् ।

दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग पनि भेट गर्ने छन् । ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डको तेहरी हाइड्रोपावर प्रोजेक्टको अवलोकन गर्ने र गुजरातको भुजमा भूकम्पपछिको पुनर्निर्माणको निरीक्षण गर्ने कार्यक्रम छ ।

मुम्बईमा भारतीय ब्यापारीले प्रधानमन्त्री ओलीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थ मन्त्री विष्णु पौडेल, गृह मन्त्री शक्ति बस्नेत, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालसहित ब्यापारी उद्योगी र पत्रकार सामेल हुने छन् । प्रधानमन्त्री ओली फागुन १२ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया