हतियार कारोबारी डाक्टर पक्राउ

Rameshkumar_Yadav_Weapens_Dhanusha_455998820 copyधनुषा, ३ फागुन । हातहतियार बिक्री गर्ने एक डाक्टरलाई जनकपुर प्रहरीले पक्राउ गरेको छ । ती डाक्टरले हतियारको कारोबारमा लगाइएका १ बालक पनि पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा निगरानी राखेको प्रहरीले जनकपुर उपमहानगरपालिका–१२ कुवा निवासी ३४ वर्षीय डा. रमेशप्रसाद यादवलाई ३ थान आधुनिक हतियारसहित सोमबार विश्वकर्मा चोकबाट पक्राउ गरेको हो ।

महाराष्ट्र विज्ञान विद्यापीठबाट सन् २०१० मा चिकित्साशास्त्र उत्तीर्ण गरेका यादवले घरमा हतियार राखेको सूचना पाएपछि प्रहरीले नै व्यापारी बनेर हतियार खरिद गर्ने प्रस्ताव राखेको जानकारी धनुषाका एसपी रामदत्त जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यादवले सादा पोसाकका प्रहरीलाई २० हजारमा एउटा आधुनिक पेस्तोल बेच्ने तय गरेका थिए । तर, पेस्तोल बेच्नका लागि उनले आफ्नो छिमेकमा बस्ने १४ वर्षीय दिपेशकुमार यादवलाई प्रयोग गरे । धनुषाको सबैला–३ घर भई जनकपुर आफन्तकहाँ पढ्न आएका दिपेश डा. यादवको प्रलोभनमा परी स्कुल ब्यागमा पेस्तोल बोकेर हिँडने गरेको प्रहरीले जनाएको छ ।

बालकसहित दुई थान पेस्तोल, त्यसमा प्रयोग हुने १ थान म्यागजिन र २ थान गोलीसहित विश्वकर्मा चोकको गल्लीमा ग्राहक भएको स्थानसम्म आइपुगेका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसँगै बालक दिपेश पनि नियन्त्रणमा परेका हुन् । घटनामा बालकको कुनै संलग्नता नभए पनि उनको बाल मनोविज्ञानसँग यादवले खेलेर उनलाई प्रयोग गरेकोले उनीमाथि बालबालिका ऐन २०४८ को दफा अनुसार उमेरको हदम्याद हेरी कारबाही प्रक्रिया अघि बढाइने एसपी जोशीले जानकारी दिए ।

पक्राउ परेका यादवलाई प्रहरीले दबाब दिएपछि उनले आफ्नो घरमा अरू हतियार रहेको बताएका थिए । त्यसपछि प्रहरीले उनको घरमा खानतलासी गर्दा मेड इन युएसए लेखेको अर्को पेस्तोल पनि बरामद गरेको थियो । यादवले यी पेस्तोलहरू कहाँबाट ल्याएका हुन् र कुन प्रयोजनको लागि घरमा राखेका हुन भन्ने अनुसन्धानका क्रममा खुल्दै जाने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया