विचार नमिले एकता हुँदैन : गजुरेल

1 copyमोरङ, १ फागुन । २ माओवादी पार्टी एकताको बहस चलिरहेको बेला क्रान्तिकारी माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले विचार र राजनीति नमिलेको खण्डमा कुनै हालतमा एकता हुन नसक्ने बताएका छन् । पार्टीको कोचिला राज्य समितिले शनिबार मोरङको पथरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

२१औँ महाजनयुद्ध दिवस तथा राष्ट्रिय जनजागरण तथा सुदृढीकरण उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले घोषित संविधान प्रतिगामी भएको बताए । उत्पीडित जाति, बेरोजगारीको पक्षमा लड्न आउँछौ भन्ने सबैसँग एकता हुने उल्लेख गर्दै संविधान उत्कृष्ट भन्ने एमाओवादीसँग तत्काल एकता हुन नसक्ने बताएका छन् । पुरानो संसदीय व्यवस्थाको अन्त्य, धर्म निरपेक्षता, मधेसी, आदिबासी जनजाति, मुस्लिम, महिला, उत्पीडित वर्गलाई समावेशी, सहभागितासहितको अधिकारका लागि ०५२ सालमा जनयुद्ध थालिएको उनले बताए । दोस्रो संविधान घोषणा भए पनि उही पुरानो संसदीय व्यवस्था, सनातन थपेको उही हिन्दू धर्म सापेक्ष राज्य रहेको उल्लेख गर्दै जनयुद्ध जारिरहेको स्वरूप मात्र परिवर्तन भएको बताए ।

आफूहरूसँग सेना बनाउने ज्ञान, हतियार झिकाउने सम्पूर्ण तरिका थाहा भएको उल्लेख गर्दै परिस्थितिमा अनुसारको युद्ध थाल्न उपयुक्त विधिको खोजी भइरहेको बताए । गजुरेलले ०५२ सालमा जनयुद्धको संखघोष गर्दा केपी ओलीले गुलेली हान्न नजान्नेले सेना र हतियार चलाउछौँ भन्दा नपत्याइने भन्दै ब्यंग्य गरे पनि १० वर्षसम्म भएको युद्धले राजतन्त्र ढालेको बताए ।

संविधान घोषणा भएकै दिनदेखि आन्दोलन सुरु भएको भन्दै मधेसमा ५५ जनाको हत्या भइसकेको प्रतिगामी संविधानविरुद्ध बलिदानीको संख्या बढ्दै जाने बताए । भूकम्पमा ८ अर्ब क्षति भयो भारतीय नाकाबन्दीमा ४० अर्ब क्षति भएको तथ्यांकहरू सार्वजनिक भइरहे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको गजुरेलको भनाइ थियो । जनयुद्ध थाल्दा गाउँमा युवाहरू भेटिने र खेतीहुने गरे पनि अहिले खेत युवाहरू विदेशिने क्रम बढेर खेतबारी बाँझोहुने क्रम बढेकोले देश दिनदिनै उधोगतिमा गइरहेको बताए । युवाहरू अव विदेश जान छाडेर नेपालमै भविष्य निर्माणको लागि लाग्नुपर्ने उपाध्यक्ष गजुरेलको भनाइ थियो ।

कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुरेस आले मगर, पार्टी पोलिट ब्युरो सदस्य तथा कोचिला संयोजक सावित्री कुमाल काँले, मधेसी मोर्चाका सचिवसमेत रहका पार्टी केन्द्रीय सदस्य सुरेन्द्र मेहेता, महिला मोर्चाकी बिनिता घिमिरे, दलित मोर्चाको केन्द्रीय सदस्य यमबहादुर जगमेर लगायतले मन्तव्य राखेका थिए ।

कोचिला राज्य समिति सचिवालय सदस्य सीताराम बूढाथोकीले स्वागत गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कुशल लिम्बू, दुर्गा राई, राजेन्द्र किरातीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राईको साकेला, संन्थाल र झागडको झाकी प्रस्तुत भएको थियो । कार्यक्रम अघि नारा जुलुससहित पथरी बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया