वन्यजन्तु स्वास्थ्य कार्यशाला सम्पन्न

चितवन, २७ माघ । चितवनमा अन्तर्राष्ट्रियविज्ञसहित सहभागी भएको ३ दिने वन्यजन्तुको स्वास्थ्यसम्बन्धी कार्यशाला सकिएको छ । सौराहामा यही माघ २३ गतेदेखि माघ २५ सम्म भएको ३ दिने गोष्ठीमा अमेरिका, बेलायत तथा नेपालका पशुचिकित्सक तथा विज्ञहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा विज्ञहरूले मानव स्वास्थ्यको सुरक्षाका लागि वन्यजन्तुको स्वास्थ्यमा समेत ख्याल गर्नुपर्ने बताएका छन् । जंगली वन्यजन्तुबाटै मानव र पालुवा जनावरमा रोग सर्ने र मानव समुदायलाई नै प्रभावित पार्ने भएकाले यसतर्फ सबै देशले ध्यान दिनुपर्ने निष्कर्षसहित कार्यशाला सकिएको कार्यशालाका संयोजक तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. आइपी ढकालले जानकारी दिए ।

करिब ६० जनाको सहभागितामा भएको छलफलले निकालेको निष्कर्ष वन्यजन्तुको स्वास्थ्य समस्या समाधानका लागि नीतिनिर्माण गर्न सहयोगी बन्ने उनले बताए । उनका अनुसार आएका विषयलाई लिपिबद्ध गरी नीतिनिर्माणका लागि मन्त्रालयमा पेस गरिनेछ । अहिलेसम्म संरक्षणको नीति भए पनि वन्यजन्तुको स्वास्थ्यको नीति भने निर्माण हुन सकेको छैन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिजको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

विज्ञबाट आएको सुझावलाई प्रतिवेदनका रूपमा तयार पारी मन्त्रालय र सम्बन्धित विभागमा निकट भविष्यमै पेस गरिने डा. ढकालले बताए । विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा विज्ञले वन्यजन्तुको विषयमा विभिन्न समूहगत छलफल गरेका थिए ।

नेपालमा संरक्षित वन्यजन्तुमा क्षयरोग र विभिन्न भाइरसको संक्रमण रहेको छ । चितवन निकुञ्जमा पालिएका कतिपय हात्तीलाई समेत क्षयरोग लागेको छ । वन्यजन्तुबाट जुनोटिक रोग मानिसमा सर्ने भएकाले विज्ञको ध्यान यसतर्फ गएको हो । उक्त कार्यशालाको वनमन्त्री अग्नि सापकोटाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया