परीक्षा आयो पुस्तक पाइएन

संखुवासभा, २५ माघ । एसएलसी अर्थात प्रवेशिका परिक्षा नजिकै आईपुग्दा संखुवासभा सदरमुकामकै विद्यार्थीले पुस्तक पाएका छैनन् । सदरमुकाम खाँदबारीमै रहेको विद्यालयमा ऐक्षिक विषयको पाठ्यपुस्तक विद्यार्थीले नपाउँदा विद्यार्थीहरू अन्यौलमा परेका हुन् ।

खाँदबारी–११ पिप्लेमा रहेको आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले अर्थशास्त्र विषयको पाठ्यपुस्तक अझै पनि नपाएका हुन । आउँदै गरेको एसएलसीको तयारी गरिरहेका २४ विद्यार्थीहरूले शिक्षकले दिएको नोटको भरमा परिक्षाको तयारी गरिरहेको बताएका छन् । ‘पूस्तक छैन सरले टिपाएको कुरा पढेर कसरी एसएलसीको तयारी गर्ने हामीलाई असजिलो परेको छ’ उनीहरूले गुनासो गरे ।

पाठ्यपुस्तक पढ्न नपाउँदा आफुहरू कुहिरोको काग जस्तै बनेको आदर्श माविमा अध्ययनरत कक्षा १० का विद्यार्थी सरिता निरौलाले बताइन । ‘नोट त सरले लेखाईदिनु हुन्छ, तर पुस्तक पढेको जस्तो सजिलो हुन्न’ विद्यार्थी निरौलाले भने ‘पाठ्यपुस्तक विनाको परिक्षा तयारीले राम्रो नतिजा आउला भन्न सकिन्न ।’

शैक्षिक सत्र सुरु हुनु अगावै आफुहरूले आवश्यक पुस्तक संख्याको बिवरण पाठ्यपुस्तक विक्रेतालाई टिपाई पुस्तक माग गरे पनि अहिले सम्म आफुहरूले पुस्तक नपाएको आदर्श माविका प्रधानाध्यापक सुर्य श्रेष्ठले जानकारी दिए । अरू विषयका पाठ्यपुस्तकहरू उपलब्ध भए पनि हालसम्म ऐक्षिक विषयको अर्थशास्त्र नपाउँदा विद्यार्थीहरूको एस्एल्सी परिक्षामा ठुलो असर पर्ने भएको प्रधानाध्यापक श्रेष्ठको भनाई छ । पाठ्यपुस्तक विक्रेतालाई पटक पटक पाठ्यपुस्तक मागे पनि आलटाल गरिरहेको श्रेष्ठको गुनासो छ । ‘विक्रेताले भोली आउँछ, पर्सि आउछ भनेको एक बर्ष वित्न लाग्यो, तर अझै पुस्तक पाएका छैनौँ’ उनले थपे । अझै पनि तत्काल पुस्तक पाए थोरै समयमा भए पनि विद्यार्थीहरूले पढ्न पाउँने हुँदा पुस्तक विक्रेतालाई ताकेता गर्न नछोडेको समेत प्रधानाध्यापक श्रेष्ठले बताए ।

अनिवार्य विषय बाहेकका पुस्तकहरू तुलनात्मक रूपमा कम छापिने र पुस्तकका कोर्षहरू परिवर्तन हुने हुँदा ऐक्षिक विषयका पुस्तकहरू कम रहेको पुस्तक ब्यावसायी महासंघ संखुवासभाका अध्यक्ष नारायण कटुवालले बताए । यस बर्ष जिल्लाका केहि विद्यालयहरूमा पुस्तक नपुगेको प्रति आफु पनि चिन्तित रहेको र अझै केहि ठाउँहरूमा ‘स्टक’ गरि राखिएको छ कि भनेर खोजी भईरहेको समेत अध्यक्ष कटुवालले जानकारी दिए ।

‘धरान, बिराटनगर, काठ्माडांै लगायतका ठाउँहरूमा पनि खोजि गरिसकेँ तर पाईएको छैन’ अध्यक्ष कटुवालले भने ‘अरू जिल्लामा कतै छ की, खोजी जारी राखेका छौँ ।’ पाठ्य पुस्तक अपुगको पाठबाट अर्को शैक्षिक सत्रको लागि समयमा नै पुस्तक ब्यावस्था गरिने समेत अध्यक्ष कटुवालले बताए ।

प्रतिक्रिया