रक्सौल डिपोले तेल दियो

काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले सोमवारदेखि रक्सौल डिपोबाट तेल दिन थालेको छ । आइओसीले सोमवार मात्र ३ लाख ६८ हजार लिटर तेलको लोडिङ दिएको नेपाल आयल निगमले जानकारी दिएको छ । झण्डै २ दर्जन भन्दा बढी ट्यांकरले सोमवार रक्सौलबाटै तेल लोड पाएका हुन् । रक्सौलबाट आईओसीले १ लाख ८ हजार लिटर पेट्रोल, १ लाख ४० हजार लिटर डिजेल र १ लाख २० हजार लिटर हवाइ इन्धन दिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । लोड भएका ट्यांकर वीरगञ्ज नाकाबाट भित्रिन थालेको भन्सार कार्यालयले जनाएको छ । रक्सौलमा लोड भएका सबै ट्याकंर सोमवारैै वीरगञ्ज प्रवेश गरेका छन् ।

नाकाबन्दीपछि रक्सौल डिपोले तेल दिन छाडेको थियो । केही दिन अघिदेखि हवाइ इन्धन र मट्टितेल मात्रै दिइरहेको थियो । ती इन्धन पनि वीरगञ्जबाहेकका नाबाट ल्याउने गरी दिइएको हो । डिपोले पेट्रोल र डिजेल भने साढे ४ महिनापछि वीरगञ्ज नाकाबाटै भित्रिने गरी दिन थालेको हो ।

आइओसीको केन्द्रीय कार्यालयले आज नै आफू मातहतको रक्सौल डिपोलाई आयल निगमको मागअनुसार तेल दिन निर्देशन दिएको थियो । आईओसीले सोमबार रक्सौल डिपोलाई पठाएको निर्देशनसहितको पत्रको बोधार्थ आयल निगमलाई पनि पठाएको थियो ।

त्यसैअनुसार सोमवार आयल निगमले रक्सौल डिपोसँग ९ सय किलोलिटर तेलको मागेको थियो । रक्सौल डिपोका अधिकारीले दैनिक रुपमा लोडिङ बढाउँदै लैजाने बताएका आयल निगमले जनाएको छ । (सौस)

प्रतिक्रिया