अझै स्वर्णको खाता खुलेन

sab_logo copyकाठमाडौं, २४ माघ । सागको तेस्रो दिन पूरा हुँदा नेपालले स्वर्ण पदक हात पार्न सकेको छैन् । कमजोर ब्यवस्थापन र तयारीको बिच सागमा सहभागी नेपालले आशा गरेको खेलमा पनि पछि परेको छ । शिर्षस्थानको भारतले २७ स्वर्ण पदक जित्दा अन्य तीन राष्ट्रले स्वर्ण पदक जितीसक्दा नेपालले रजतमा नै हालसम्म चित्त बुझाउनुपरेको छ ।

पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलो अन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक जोडे । स्वर्ण विजेता श्रीलंकाली खेलाडीले ८.८६ अंक बनाए । तेश्रो स्थानमा चित्त बुझाएका भारतका अन्जुल लाम्डियोले ८.६६ अंक बटुले ।

सुस्मिताले ८.७२ अंक जोडिन् । पहिलो भएकी भारतकी वाई सपना देवीले ९.४५ तथा तेश्रो भएकी पाकिस्तानकी नाजिया पर्वेजले ६.३० अंक जोडे। रजत विजेता सुस्मीता एपीएफ क्लबमा तथा विजय नेपाल आर्मी क्लबमा आवद्ध छन् । विजयका प्रशिक्षक राजीवले उनको सफलतामा खुसी हुदै उसु टोलीले यस सागमा अझ महत्वपूर्ण सफलता पाउने सम्भावना ब्यक्त गरेका छन् । उसुकै नानछ्वानमा नेपालमी निमा मगरले अग्रता लिएका छन् । यसैगरी युवराज थापा दोस्रो स्थानमा रहेका छन् । निमाले यो अग्रता नानकानकुममा जोगाए स्वर्ण पदकको दौडमा अघि रहने छिन् ।

bijay sinjali &susmita tamang silver medal in wushu copy

भारोत्तोलनमा जुनुमायालाई काँस्य
१२ औँ सागमा भारोत्तलनको महिला ६३ किलोमा नेपालकी जुनुमाया छन्त्यालले काश्य पदक जितेकी छिन् । सो स्पर्धामा बंगलदोशकी मवीवा अख्तरले स्वर्ण तथा श्रीलंकाकी आयशा भिनदानीले रजत पदक जिते ।

जुनुमायाले स्न्याचमा ५९ तथा क्लीन एन्ड जर्कमा ७० किलो भार उठाइन् । अख्तरले स्न्याचमा ६७ तथा क्लीन एन्ड जर्कमा ८२ किलो भार उठाइन् । आयशााले स्न्याचमा ६३ तथा क्लीन एन्ड जर्कमा ७० किलो उठाइन् ।

कुस्तीमा काँस्य
कुस्तीकै ६१ केजी तौल समूहमा नेपालका रामबाबु यादवले काँस्य पदक जितेका छन् । यादव सेमिफाइनलमा भारतका खेलाडीसँग हारेका हुन् । उनी पाकिस्तानका अब्दुल वाहाईसँग पराजित भएका थिए । रामबाबुले पहिलो खेलमा वाइ पाएका थिए । उनीसँगै अफगानी मोहम्मद अलीले कांस्य जित्दा भारतका प्रदीपले स्वर्ण र अब्दुलले रजत जितेका थिए । महिलातर्फ भने राउन्ड रोबिनमा सुमित्रा थापा र लक्ष्मी खत्री दुवै पराजित भए ।

गौरीकालाई काँस्य
सागको पौडीअन्तर्गत खेलमा नेपालले काँस्य पदक हात पारेको छ । सागअन्तर्गत पौडीमा गौरीका सिंहले आइतबार कांस्य जितेकी छन् । महिलाको २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट २६.९३ सेकेन्डमा पूरा गर्दै गौरीका तेस्रो भइन् ।

गौरीकाले दूरी पूरा गरेको समय नयाँ राष्ट्रिय कीर्तिमान समेत बनेको छ । गौरीकाकै नाममा २ मिनेट ३७.८७ सेकेन्ड समयको राष्ट्रिय कीर्तिमान थियो ।

टेटेमा पुरुष टिमलाई काँस्य
टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले कांस्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासंग ३–० ले पराजित भएपछि कांस्यमा सीमित भएको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो । महिला टिम इभेन्टमा नेपालको चुनौति समाप्त भएको छ । नेपाल बंगलादेश विरुद्धको खेलमा ३–२ ले चुक्यो ।

फुटबलमा जीत
सागअन्तर्गत महिला फुटबलमा नेपालले आइतबार लगातार दोश्रो जित हात पारेको छ । राउन्ड लिगको आफ्नो दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलले पराजित गर्दै अपराजित यात्रालाई कायम राख्यो । पहिलो र दोश्रो हाफमा समान १–१ गोल सम्भव भयो । नेपालका लागि अनु लामाले ३५ औँ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाइन् । दोस्रो गोल ८८ औँ मिनेटमा निरु थपाले गरिन् ।

पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० गोलले हराउदै विजयी सुरुआत गरेको थियो । अब नेपालले फेब्रुअरी ११ तारिखमा उपाधिको प्रबल दाबेदार मानिएको भारत विरुद्ध प्रतिस्पर्धा गर्नेछ । १२ औँ साग अन्तर्गत पुरुष फुटबलमा नेपालले बिजयी सुरुवात गरेको छ । नेपालले सहज जित दर्ता गर्दा नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरे । आइतबार नेपालले भुटानलाई ५–० को गोल अन्तरले हराउँदै सानदार सुरुआत ग¥यो ।

भारतको गुवाहाटीमा सम्पन्न खेलमा नेपालका लागि विशाल राई र अन्जन बिष्टले थप १–१ गोल गरेका हुन् । पहिलो हाफ सम्म २–० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको हो । नवयुगले खेलको ३३ औँ, ७५ औँ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यसअघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा नवयुगले माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए । यससगैँ उनले अन्तराष्ट्रिय प्रतियोगितामा दोस्रो ह्याट्रीक गरे । सागको फुटबलमा ६ देश सहभागी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । समूह ‘बी’ मा नेपाल, भुटान र बंगलादेश छन् । यस्तै, समूह ‘ए’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् । नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार बंगलादेशको सामना गर्ने छ ।

आर्चरीमा तेस्रोका भिड्ने
सागअन्तर्गत आर्चरीको कम्पाउन्ड पुरुष टिम इभेन्टमा नेपालले तेश्रो स्थानका लागि बंगलादेशसंग खेल्ने भएको छ । पुरुष/महिला टिम इभेन्टको रिकर्भ स्पर्धामा नेपाल बाहिरी सकेको छ । नेपाली महिला टिम भुटानसंग पहिलो चरणमा ६–० ले पराजित भयो । पुरुष टिममा नेपाल भारतसंग क्वाटरफाइनलमा ६–२ ले पराजित भयो ।

नेपाल पाँचौं स्थानमा
सागमा नेपालको ३ रजत र ५ काँस्यसहित कुल ८ पदक पुगेको छ । नेपालले दोस्रो दिन १ रजत र २ काँस्य जितेको थियो । तेस्रो दिन भने नेपालले २ रजत र ३ काँस्य हात पा¥यो । नेपालको लागि उसुको छानछुवाङबाट विजय सिञ्जाली र सुस्मिता तामाङले रजत जिते । त्यस्तै भारोत्तोलनकी जुनुमाया छन्त्यालले काँस्य जितेकी छिन् । कुस्तीको पुरुषमा रामबहादुर यादवले काँस्य जिते । त्यस्तै टेनिसको पुरुष टिम स्पर्धामा पनि नेपालले काँस्य जितेको छ ।

यसअघि दोस्रो दिन भारोत्तोलनबाट विकास थापाले रजत, भारोत्तोलनमै देवीकुमारी चौधरीले काँस्य पार्दा कुस्तीमा सरोज यादवले काँस्यपदक जितेका थिए ।

१२ औँ सागमा २७ स्वर्ण, १२ रजत र ३ काँस्य पदक गरी भारतले कुल ४२ पदक जित्दै शिर्षस्थान कायम गरेको छ । ८ स्वर्ण,१७ रजत र १२ काँस्यसहित श्रीलंका दोस्रो स्थानमा छ । दुई स्वर्ण,४ रजत र ७ काँस्यसहित पाकिस्तान तेस्रो स्थानमा छ । दुई स्वर्ण जितेको बंगलादेश चौथो स्थानमा छ । नेपाल पाँचौं स्थानमा रहँदा एक रजतसहित अफगानिस्तान छैटौं स्थानमा छ । भुटान र माल्दिभ्सले भने पदकको खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया