एउटै गाउँबाट पाँच करोडको तरकारी

पर्वत, २३ माघ । पर्वतको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौंँ गाउँमा भित्र्याउने गरेको पाइएको छ । पूर्वी मोहडामा समतल फैलिएको करिब एकहजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब तीनसय घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक पाँच करोड रूपैयाँको आम्दानी गर्न सफल भएका छन् ।

बीसवर्ष अघिदेखि धौलागिरिमै पहिलोपटक व्यावसायिक रूपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म्याग्दी र पर्वत सदरमुकामको माग धानेको छ । तराई बन्द र भारतीय नाकाबन्दीको असरले मुलुकका विभिन्न जिल्लामा तरकारीको मूल्य आकासिएका बेला यहाँको उत्पादनले यी तिनै जिल्लामा तरकारीको मूल्य बढ्नुको सट्टा घटेको छ ।

‘हाम्रो उत्पादन काठमाडाँैंसम्म पुग्थ्यो,’स्थानीय अगुवा किसान नरबहादुर केसीले भने, ‘अहिले सहज ढुवानी नहुँदा यहीको बजारमा सस्तो बेच्नुपरेको छ ।’ पोखरा नारायणगढ, काठमाडाँैंलगायतमा अहिले गोलभेंडाको मूल्य ६० रूपैयाँ भन्दामाथि भएर पनि आफूहरूले ३० रूपैयाँ मा बिक्री गर्नुपरेको उनको गुनासो रहेको छ ।

केसीले तरकारीबाट मात्रै वार्षिक १५ लाखदेखि १८ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिए । सहज सवारी चल्दा यहाँका किसानले धौलागिरी बाहिरका जिल्लामा राम्रो मूल्य पाउँदा उतै निर्यात गर्दै आइरहेको किसानहरूले बताएका छन् ।

तराई बन्द र नाकाबन्दीका कारण गोलभेंडा, मुला, काउलीलगायतका तरकारीको मूल्य सस्तिएपछि यहाँका अधिकांश किसान बीउ उत्पादनमा लागेका छन् । ‘बाहिर पठाउन नपाएपछि गोलभेंडाको बीउ बनाउन थालेको छु,’ स्थानीय किसान एकनारायण पौडेलले भने, ‘मूल्य राम्रो पाएको भए बीउ भन्दा हरियो बेच्दा दोब्बर आम्दानी हुन्थ्यो ।’

गाउँका अधिकांश किसान अहिले धान, गहुँ, मकैलगायतका खाद्यान्नबाली छोडेर तरकारीखेतीमा लागेका छन् । खाद्यबालीको तुलनामा तरकारीबाट दशाँैं गुणाबढी आम्दानी हुने भएपछि वडाभरि रहेका करिब तीनसय घरपरिवार सबै तरकारीमा लागेका छन् । केही वर्षअघि रेमिट्यान्सबाट धानिएको यो गाउँमा अहिले विदेश गएका युवा भेटिन मुस्किल छ । ‘दश वर्षअघि एकजना विदेश नगएको कुनै घर थिएन,’ स्थानीय नवराज आचार्यले भने, ‘अहिले विदेश गएको घर भेट्न मुस्किल छ ।’ म्याग्दी सदरमुकाममा खुद्रा व्यवसाय गर्दै आएका आचार्यले ६ वर्षअघि गाउँमै फर्किएर तरकारीमा लागेका हुन् ।

प्रतिक्रिया