यमनका अल कायदा प्रमुखको मृत्यु

आदेन, २१ माघ । अमेरिकी हवाई कारबाहीमा परी दक्षिणी यमनमा बिहीबार अल कायदाका एकजना वरिष्ठ नेताको ज्यान गएको समाचार छ । दक्षिणी यमनी नगरमा बिगत लामो समयदेखि यमनी तथा अमेरिकी सेनाले यस्तो हवाई कारबाही गर्दै आएको छ । बिहीबारको सो कारबाहीमा परी अल कायदा नामक आतंककारी संगठनका अरु छ जना पनि मारिएका यमनी सेनाले जानकारी दिएको छ ।

अमेरिकी सेनाको नेतृत्वको सो कारबाहीमा परी यमनको अल कायदाकै प्रमुख मारिएको उनको पारिवारिक स्रोतले जनाएको छ । यमनको अल कायदाका प्रमुख जलाल बेलादीको ज्यान गएको उनको परिवारका एकजना सदस्यले जनाएका छन् । उनी यमनमा अबु हम्जाका नामले पनि चिनिदै आएका थिए । उनी अल कायदाका उच्च कमाण्डर तथा यमनको अल कायदा समूहका अध्यक्ष पनि थिए। उनका साथमा उनका दुई जना अंगरक्षक पनि रहेका र ती अंगरक्षक पनि सो आक्रमणमा मारिएका बताइएको छ । दक्षिणी यमनको अबियान प्रान्तको माराक्वेसा नगरमा सो हमला भएको थियो । अमेरिकी सेनाले तिनै व्यक्तिलाई लक्ष्य गरेर सूचनाको आधारमा नै सो हमला गरेको जनाएको छ ।

उता दक्षिणी यमनै सबाहा प्रान्तको राधुम क्षेत्रमा पनि बुधबार राति गरेको अर्काे एक हवाई कारबाहीमा थप छ जना मारिएका छन् । मारिनेमा अल कायदाकै लडाकू परेका अधिकारीहरुले जनाएका छन् । उनीहरका अनुसार सो क्षेत्रमा विगतका केही दिनदेखि अल कायदाका लडाकूहरुको उपस्थिति बढेको सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा लडाकूहरुले पार्किङ गरी राखिएको सवारी साधनका क्षेत्रमा अमेरिकी सेनाको युद्धक विमानले सो हमला थालेको थियो ।

यमनका केही नगरमा सरकार समर्थित र सरकार विरोधी हतियारधारीको झडप निरन्तर जस्तो हुने गरेको छ । पछिल्लो समयमा त्यहाँको सरकारका विरुद्धमा हुथी विद्रोहीले पनि आक्रमण गर्ने गरेका छन् । उनीहरुका विरुद्धमा पनि सेनाले कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया