यू–१९ विश्वकप क्रिकेट

nepal copyकाठमाडौं, १९ माघ । बगंलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटमा नेपालले आयोजक बंगलादेशको सामना शुक्रबार गर्ने भएको छ । समूह ‘ए’को खेलमा बंगलादेशले मंगलबार नामिबियालाई ८ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थान ओगटेको थियो । त्यसैले समूह ‘डी’को उपविजेता नेपालले सुमह ‘ए’को विजेता बंगलादेशलाई प्रतिद्वन्द्वी पाएको हो । नामिबिया भने उपविजेता बन्दै नेपालको समूह विजेता भारतसँग क्वाटरफाइनलमा भिड्ने भएको छ ।

नेपाल र बंगलादेशबीचको क्वाटरफाइनल खेल मिरपुरमा हुनेछ । नेपालले लगातार २ जित हात पार्दा अन्तिम खेल भारतसँग पराजित भएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । दोस्रो खेल आयरल्यान्डमाथि ८ विकेटको जित निकालेको थियो । तर, भारतसँग भने नेपाल ७ विकेटले पराजित भएको थियो ।

दोस्रोपटक क्वाटरफाइनलमा पुगेको नेपालले बंगलादेशलाई हराए ऐतिहासिक जित दर्ता गर्नेछ । नेपाल अहिलेसम्म सेमिफाइनलमा पुगेको छैन । त्यसैले जितले नेपालले ठूलो सफलता हासिल गर्नेछ । तथापि, बंगलादेश निकै बलियो प्रतिद्वन्द्वी हो । त्यसैले बंगलादेशविरुद्ध जित हात पार्न नेपालले ठूलो संघर्ष र मिहिनेत गर्नुपर्नेछ ।

नेपालले १ खेल हार्दा बंगलादेश भने समूहका सबै खेल जितेर अन्तिम ८ मा पुगेको थियो । यसअघि नेपाल सन् २००० मा पहिलोपटक दोस्रो चरण पुगेको थियो । त्यही सफलता नेपालले यसपटक पनि हात पा¥यो । तर, यसअघि यात्रा भने नेपाललाई कठिन हुनेछ । क्वाटरफाइनलमा प्रवेश गरेका सबै राष्ट्र निकै बलियो छन् । तर, भूतकालको नतिजाले केही फरक नपार्ने नामेबियाले जारी विश्वकपमा उदाहरण पेस गरिसकेको छ । नामेबियाले निकै बलियो राष्ट्र दक्षिण अफ्रिकालाई हराउँदै समूह चरणबाटै घर फर्कन बाध्य बनाएको थियो ।

प्रतिक्रिया