युवा पलायन रोक्न

gaaipalan copyइलाम, १९ माघ । सरकारले व्यावसायिक पशुपालनमा युवालाई आकर्षित गर्न ३२ लाखभन्दा बढी रकम अनुदानमा उपलब्ध गराउने भएको छ । जिल्ला पशुसेवा कार्यालयमार्पmत गाई, भैँसी, बंगुर, बाख्रा र कुखुराको व्यवसाय सञ्चालन गर्नका लागि ३२ लाख १५ हजार रुपैयाँ रकम अनुदान दिइने कार्यालयले जनाएको छ ।

फार्म स्थापना, गोठ सुधार, बजार स्थापना उपकरण किन्न अनुदान दिन लागिएको कार्यालयले जनाएको छ । युवा लक्षित पशु विकास कार्यक्रमअन्तर्गत ३ वटा बंगुर फार्मका लागि ३ लाख रुपैयाँ रकम विनियोजन भएको छ । व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका १८ वर्षदेखि ५० वर्षसम्मका किसानलाई थप व्यावसायिक बनाउनका लागि १÷१ लाख रुपैयाँका दरले रकम अनुदान दिइन लागेको हो । व्यावसायिक परियोजना प्रस्तावको आधारमा किसानलाई रकम दिइने वरिष्ठ पशु विकास अधिकृत डा. पशुपति ढुंगानाले जानकारी दिए ।

त्यस्तै जिल्लामा गाई–भैँसीको नयाँ फार्म स्थापनाका लागि रकम अनुदान दिइनेछ । ३ वटा साना फार्महरूलाई २ लाख रुपैयाँका दरले रकम दिइनेछ । ३ वटाभन्दा बढी गाईपालन गरिरहेका पशुपालक किसानलाई रकम अनुदान दिइने कार्यालयले जनाएको छ । यस्तै १८ वटाभन्दा बढी गाईपालन गरिरहेका ठूलो फार्मको गोठ सुधार र उत्पादनलाई बजारीकरण गर्नका लागि ३ लाख रुपैयाँ रकम अनुदानमा दिन कार्यक्रम र बजेट विनियोजन गरेको छ । बाख्रापालनका लागि पनि किसानलाई अनुदान उपलब्ध गराइनेछ । २ वटा बाख्रा फार्मका लागि ४÷४ लाख रुपैयाँका दरले रकम दिइने छ । न्यूनतम २० वटाभन्दा बढी बाख्रापालन गरिरहेका किसानले रकम लिनका लागि प्रस्ताव पेस गर्न सक्ने कार्यालय प्रमुख डा. ढुंगानाले बताए । युवाहरूको बारम्बार विदेशिने बाध्यता अन्त्य गर्नका लागि एकपटक विदेशबाट फर्केका युवाहरू र शिक्षित बेरोजगार युवालाई व्यावसायिक बनाउन पनि जिल्ला पशुसेवा कार्यालयमार्फत अनुदान दिइने भएको छ ।

जिल्ला पशुसेवाले मासु पसल सञ्चालन र डेरी सञ्चालनका लागि रकम अनुदान दिइने प्रावधान छ । मासु पसल सञ्चालनका लागि २÷२ लाख रुपैयाँका दरले २ जनालाई र डेरी सञ्चालनका लागि पनि २÷२ लाख रुपैयाँका दरले २ जनालाई अनुदान रकम दिइने भएको छ । पशुपंक्षी बजार प्रवद्र्धनअन्तर्गतको सो अनुदानका लागि भने दोस्रो चौमासिकभित्र गरिने बताइएको छ । त्यसका लागि कार्यालयले चाँडै प्रस्ताव आह्वान गर्दै छ । गाई, भैँसी र बाख्रालाई आहारको व्यवस्था गर्न पशुसेवा कार्यालयले च्यापकटरमा पनि अनुदान रकम दिने भएको छ । जिल्लाभर १ सय ६३ वटा च्यापकटरमा आधा रकम अनुदान दिने कार्यक्रम रहेको छ । १० हजार रुपैयाँ मूल्य पर्ने च्यापकटर खरिदका लागि कार्यालयले ५ हजार रुपैयाँ रकम अनुदान दिने भएको छ भने बाँकी ५ हजार रुपैयाँ रकम किसानले बेहोर्नु पर्नेछ । त्यसमध्ये ६३ वटा च्यापकटर सेवा केन्द्रमार्फत वितरण हुने र बाँकी १ सय वटा किसान र समूहमा वितरण गर्ने कार्यक्रम छ ।

यसैबीच सरकारले जिल्लाको गोर्खे र समाल्बुङमा गाई प्याकेज कार्यक्रम सुरु गरेको छ । व्यावसायिक गाईपालनमा पछिरहेका यी गाविसमा गाई प्याकेज कार्यक्रम थालिएको प्रमुख डा.ढुंगाना बताउँछन् । कार्यक्रमअन्तर्गत २ गाविसमा गरेर ४० वटा गोठ सुधार गरिनेछ । त्यस्तै ४० वटा च्यापकटर वितरण गरिनेछ । गाईमा पशु र नाम्लेको समस्या हटाउन वर्षमा दुईपटक औषधि उपचारको कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम सुरु गर्नका लागि २ गाविसमा कृषक समूह र कार्यक्रम सञ्चालनका लागि समिति बनाइँदै छ । गाविसमा ५÷५ वटा गाईपालक किसानको समूह बनाइने र त्यही समूहबाट समिति बनाउने कार्य भइरहेको कार्यालयले जनाएको छ । प्याकेज कार्यक्रमअन्तर्गत गाईपालनसम्बन्धी सीप विकास गर्ने उद्देश्यले ३ दिनको स्थलगत तालिम गराइने बताइएको छ । प्याकेज कार्यक्रम सञ्चालन भएकै क्षेत्रका किसानलाई ७ दिने क्षेत्रीयस्तरको तालिम दिइनेछ । गाई प्याकेज कार्यक्रम यस अघिबाटै पञ्चकन्या, गोदक र श्रीअन्तु गाविसमा सञ्चालित छ । कार्यक्रम प्रभावकारी भए डेरी र चिस्यान केन्द्र स्थापनामा सहयोग गर्ने बरिष्ठ पशु विकास अधिकृत डा. पशुपति ढुंगानाले बताए ।

प्रतिक्रिया