‘सुखानी साहदत’ चलचित्रमा

sukhani copyकाठमाडौं । तत्कालीन पञ्चायती शासनविरुद्ध आन्दोलन गर्दा राज्यपक्षको सिकार भएर झापाको सुखानीमा साहदत प्राप्त गरेकाहरूको कथालाई अब चलचित्रमा देख्न पाइने भएको छ ।

दीपेन्द्र दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘सुखानी साहदत’को प्रचार सामग्री र गीत काठमाडौंमा लोकार्पण गरिएको छ ।
सूचना सञ्चार तथा प्रविधिमन्त्री शेरधन राइले ‘सुखानी साहदत’का गीति एल्मब र पोस्टर विमोचन गर्दै हिजोका जहाँनीया शासन, पञ्चायत शासनविरुद्ध साहदत प्राप्त गर्नुभएका तिनै सहिदहरूको योगदानका कारण आज हामीले गणतन्त्र र नयाँ सँविधान पाएका हौँ । अब हामीले ती सहिदहरूको सपना साकार गर्नुपर्ने बताए ।

सुखानीमा ५ व्यक्तिले साहदत प्राप्त गरेको दिन फागुन २१ गते यो चलचित्रको राजधानी र मोफसलका केही हलमा विशेष प्रदर्शनी गरिने निर्देशक दीपेन्द्र दाहालले जानकारी गराए । यो चलचित्रमा तीन वटा गीत छन् । निर्देशक दाहालले नै लेखेको गीतमा जुगल डँगोलको संगीत र राजेश पायल राई, निशा देशार, केञ्जुमा सुब्बा, रामकृष्ण दुवाल, सानुबाबु महर्जनको स्वर छ ।

माधव पौडेल र कविता आले मगरले निर्माण गरेको चलचित्रमा उपेन्द्र तिमिल्सिना, सुशील पोखरेल, अञ्जु निरौला, प्रकाश धिताल, कविता आले, ईश्वरबल्लभ जोशी, सुदीप कुँवर, लक्ष्मी चौधरीको अभिनय छ । रत्न कार्कीको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, गोविन्द प्रभातको नृत्य निर्देशन रहेको छ । चलचित्र आगामी वैशाखमा प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया