‘नाकाबन्दी तत्काल हट्दैन’

काठमाडौं, १८ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसीवादी दलसँग कुनै संयन्त्रमार्फत ३ महिनामा सीमांकन टुंग्याउने सहमति भएपछि मात्रे नाकाबन्दी हट्ने बताएका छन । पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट तथा जलपान कार्यक्रममा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रमुखसमेत रहेका दाहालले सो कुरा बताएका हुन् ।

‘संविधान संशोधनका दुई विधेयक र तीन महिनाभित्र सीमांकन मिलाउने गरी भारतसँग समझदारी भएको ब्रिफिङ परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणपछि गर्नुभएको थियो,’ पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘संविधान संशोधन त भयो, तर सीमांकनको कुरा मिलेको थिएन । त्यसैले केही साथीले संशोधनपछि नाकाबन्दी खुल्ने आशा व्यक्त गरे पनि मलाई चाहीं खुल्छ जस्तो लागेको थिएन ।’

उनले नाकाबन्दीको अन्त्य मोर्चासँग हुने वार्ता र भारतसँग हुने कुटनीतिक वार्ता दुवैमा निर्भर रहने बताए ।

दाहालले संविधान निर्माण पूर्व आफूले गरेको भारत भ्रमणका क्रममा भारतीय अधिकारीसँग संविधानका विषयमा कुनै सम्झौता नभएको बताए । ‘त्यतिबेला सीमांकन गरिएको थिएन । बरु सीमा नाका मिलाउनुस् भन्ने सुझाव भारतीय नेताबाट आएको थियो,’ उनले भने, ‘मैले भारतीय नेतासँग कुनै समझदारी गरेको थिएँ भन्ने हल्ला गलत हो ।’ तर, अब भारतले नाकाबन्दीलाइ धेरै नलम्ब्याउने उनले बताए । ‘नाकाबन्दी लम्ब्याएर हामीलाई फाइदा छैन भन्ने भारतको बुझाइ रहेको देखिन्छ । अब छिटो समस्या समाधान होस् भन्ने उसको पनि चाहना हो,’ उनले भने, ‘हाम्रो पनि चाहना समाधान चाँडो समाधान होस् भन्ने नै हो । यद्यपि, भोलि वा पर्सि नै समाधान हुन्छ भनेर दिन तोक्न सकिन्न ।’

कांग्रेसले मधेसमा महाधिवेशनको तयारी गर्दैगर्दा विभिन्न ठाउँमा सो पार्टीका नेता तथा कार्यकर्तामाथि भएको आक्रमण बारे पनि आफ्नो ध्यानाकर्षण भएको उनले बताए । ‘वैधानिक तरिकाले सञ्चालन भएको महाधिवेशन वा कसैको विचार राख्ने कुरालाइ कसैले निषेध गर्नु हुँदैन । यसमा सबैको सहयोग हुनु पर्छ,’ उनले भने ।

कुराकानीका क्रममा पार्टी अध्यक्ष दाहालले सरकारको काम जन अपेक्षाअनुसार नभए पनि अहिले असहज परिस्थिति भएकाले त्यहि अनुसार सरकारको मूल्यांकन हुनुपर्ने तर्क गरे । ‘जनअपेक्षा ठूलो छ । सरकारले आफ्नो प्रयास र मेहनत बढाउनु पर्छ । तर, सबै खत्तम नै भइसक्यो भन्ने होइन ।’ पार्टी छाडेर ‘नयाँ शक्ति’ निर्माण अभियानमा लागेका पुर्व माओवादी नेता बाबुराम भट्टराईको कदमलाई दाहालले ‘आत्मघाती, पार्टीघाती र माक्र्सवादघाती’ रहेको टिप्पणी गरे । ‘उहाँले जे रोप्नुभएको छ त्यही फल्छ तर त्यसबाट राम्रो कुरा फल्छ जस्तो लाग्दैन’, दाहालले भने, ‘त्यो आतामघाती, पार्टीघाती र माक्र्सवादघाती कदम हो ।’

भट्टराईको बहिर्गमन आश्चर्यजनक र सबैलाई स्तब्ध पर्ने खालको भएको बताउँदै उनले जनयुद्धकालमा जनसरकार प्रमुखसमेत रहेका भट्टराईले यस्तो कदम लिनु कम्युनिस्ट आन्दोलनमा विरलै हुने घटना भएको बताए ।

प्रतिक्रिया