‘निषेधको राजनीति नगरौ“’

महोत्तरी, १७ माघ । राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले कुनै पनि राजनीतिक दललाई राजनीतिक क्रियाकलाप गर्नबाट रोक्न उचित नभएको बताएका छन् । आइतबार महोत्तरीको वर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेसमा कांग्रेस, एमालेलगायत कुनै पनि दललाई प्रवेश गर्न निषेधित गर्ने र राजनीतिक गतिविधि गर्न नदिने कार्यले लोकतन्त्र कमजोर हुने बताए । निषेध र दोषारोपणको राजनीति अर्थपूर्ण नहुने बताउँदै आएका भण्डारी नेतृत्वको पार्टी जारी मधेस आन्दोलनमा संघीय समावेशी गठबन्धनका घटकमा सहभागी रहेको छ ।

अध्यक्ष भण्डारीले दलविशेषलाई निषेधित गर्ने विषय आन्दोलनसँग नजोडिएको दाबी गर्दै निषेधको राजनीतिबाट तानाशाही जन्मिने खतरा रहेको उल्लेख गरे । उनले कांग्रेसले पनि महाधिवेशनपूर्व आफ्ना विभिन्न तहका अधिवेशनहरू निर्वाध गर्न पाउनुपर्ने बताए । समान उद्देश्यका लागि सहकार्यका आधारमा मधेसमा आन्दोलनरत दलहरूबीच महागठबन्धन बन्ने अड्कल गरिएको बेला संघीय समावेशी गठबन्धनका नेता भण्डारीको यस्तो अभिव्यक्ति आएको हो । महागठबन्धनको प्रस्ताव संघीय गठबन्धनले गर्दै आएको छ भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले यसलाई लिएर सैद्धान्तिक सहमति जनाइसकेका छन् । तर मोर्चासम्बद्ध दलका कार्यकर्ताहरूले मधेसका जिल्लाहरूमा कांग्रेसका अधिवेशन बिथोल्ने काम गरिरहेका छन् ।

संविधान जारी गर्दा मधेसीका मागलाई उपेक्षा गरिएको आक्रोशमा संविधानमा हस्ताक्षर गर्ने तत्कालीन संविधानसभाका सदस्यहरूलाई प्रवेश गर्न नदिने विषय र अहिले भइरहेका दलीय गतिविधि बेग्लाबेग्लै कुरा भएको भन्दै नेता भण्डारीले यी दुई फरक विषय छुट्याउन नसक्दा समस्या देखिएको बताए । कांग्रेसले महाधिवेशनको क्रममा अहिले जारी गरेको क्रियाशील सदस्यता विवरणमा आफ्नो नाउँ हुनु उसको हुस्सुपन भएको भण्डारीको टिप्पणी थियो । ‘७ वर्षपहिले दल छाडेर अर्को पार्टीको राष्ट्रिय अध्यक्ष भइसकेको व्यक्तिको नाम आफ्नो सदस्यता विवरणमा राख्ने पार्टी कति वैज्ञानिक र अपडेटेड रहेछ भन्ने कुरा मान्छेले बुझे नि !’ उनले भने । अब मधेसवादी दलहरूका बीच महागठबन्धन बन्ने कुरामा सकारात्मक बहस सुरु भएकाले चाँडै एकताबद्ध मधेस आन्दोलनको खाका बन्ने भण्डारीको विश्वास छ । राज्य अनुदार भएकाले नै मधेश आन्दोलन लम्बिएको बताउँदै अध्यक्ष भण्डारीले हेपेर र पेलेर ठीक पारिन्छ भन्ने सरकारको सोच कहिल्यै सफल नहुने दाबी गरे ।

प्रतिक्रिया