५ सय ५९ जनाले गाए “प्रेमगीत”

काठमाडौं, १६ माघ । फिल्म ‘प्रेमगीत’का शीर्ष गीतका लागि ५ सय ५९ जनाले आआफ्नो स्वर भरेका छन् । यो प्रतियोगिताका लागि विश्वभरबाट ५ सय ५९ जनाले कभर गीत गाएर पठाएको यसको निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

झन्डै २ महिना अगाडि चलचित्र ‘प्रेमगीत’को शीर्ष गीतको कभर गीत गाउनका लागि भन्दै यसको निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रतियोगिताको घोषणा गरेको थियो ।

सम्पूर्ण भिडियोलाई आजबाट आशुसेन फिल्मस्को युट्युब च्यानलमा अपलोड गरिएको जानकारी निर्माता सन्तोष सेनले दिएका छन् । यी भिडियो मध्येबाट सर्वाधिक धेरै भिजिटर पाउन सफल १० भिडियो छानिनेछ । यस्तै, भिजिटर कम भएर पनि प्रतिभावान् कलाकारमध्येबाट ५ जनालाई वाइल्र्ड कार्ड इन्ट्रीको रूपमा प्रवेश गराइनेछ । उत्कृष्ट १५ को फाइनल बृहत् सांगीतिक कन्सर्टमार्फत फागुन ८ गते छनोट गरिने जानकारी पत्रकार सम्मेलनमार्फत गराइयो ।

गायिका अञ्जु पन्त, गायक सुगम पोखरेल र संगीतकार अर्जुन पोखरेलले उत्कृष्ट एक छान्नेछन् । विजेताले कलर्स मोबाइलको तर्फबाट नगद १ लाख पुरस्कारका साथै आगामी चलचित्रमा गीत गाउने मौका समेत पाउनेछन् । यस्तै, सम्पूर्ण १५ जनालाई एक–एक थान कलर्स मोबाइल प्रदान गरिनेछ । शुक्रबारभन्दा अगाडि कभर गीत गाउनेले आफ्नै युट्युबबाट अपलोड गरिएका भिडियो र त्यसको भिजिटरलाई मान्यता नदिइने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । गीतसंगीतका कारण सर्वाधिक चर्चामा रहेको यो चलचित्रमा पूजा शर्मा र प्रदीप खड्काको मुख्य भूमिका छ । चलचित्रमा रेनशा राईको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन छ ।

प्रतिक्रिया