मन्त्रीविरुद्व सुरेश अदालत जाने

suresh darpan copyकाठमाडौं, १३ माघ । चलचित्र विकास बोर्डको सदस्य पदबाट हटाइएपछि सुरेश दर्पण पोखरेलले असन्तुष्टी व्यक्त गर्दै निर्णय उल्टाउन अदालत जाने बताएका छन् ।

अमेरिकाबाट यसै साता नेपाल फर्कंदै गरेका पोखरेलले सूचना तथा सञ्चारमन्त्रीका कारण आपूm बोर्ड सदस्यबाट बाहिरिनु परेको आरोप आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

उनको स्थानमा एमाले निकट कलाकार उत्तम केसीलाई यसै साता बोर्ड सदस्यमा नियुक्त गरिएको छ । उनले सञ्चारमन्त्रीले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई हटाएको गुनासो फेसबुकमा गरेका छन् । पोखरेलले स्टाटसमा आफूलाई ‘दुई अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उल्लेख्य सहभागिता र आगामी २०७३ मा अमेरिका मै नेपाली फिल्म फेस्टिबलको पूर्वतयारी सम्पन्न गरी २ दिनपछि नेपाल फर्कने क्रममा पाएको यो खबरले कानुनी राज्यको धज्जी उडाएको मैले ठानेको छु, भनेका छन् । उनले नेपाल आएर आफू उपर गरिएको अन्यायको कानुनी उपचार खोज्ने चुनौती पनि दिएका छन् ।

‘मलाई पदको लोभ छैन तर विधि र प्रक्रिया मिचेर स्वेच्छाचारी ढंगले अघि बढ्ने जो सुकैको विरोध गर्न पनि म पछि हट्दिनँ । विगतमा पनि सम्माननीय अदालतले यस्तै प्रकृतिको मुद्दामा फैसला गरिसकेको हो । विधि र कानुन मिच्न खोज्ने जो सुकैलाई सही मार्गमा ल्याउने सम्मानित अदालतले फेरी एकपटक निरंकुशतालाई पराजित गर्ने नै छ ।’

‘म विगत ५ महिना यता अमेरिका भ्रमणमा छु र बिहीबार नेपाल फर्कंदैछु । यसै क्रममा म बहाल रहेको चलचित्र विकास बोर्डको सदस्य पदमा माननीय सूचना तथा सञ्चारमन्त्रीले मनमोजी शैलीमा नियम कानुनको पर्वाह नगरी सम्बन्धित पक्षलाई सामान्य सफाइ दिने अवसरसमेत नदिई निरंकुुश शैलीमा खल्ती बोर्ड सदस्य हेरफेर गर्ने जस्तो कार्य गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

काम नगरी बोर्डमा बस्न मलाई कुनै रहर पनि छैन तर केहीसमय एउटा सदस्यविना पनि बोर्ड रोकिंदैन । मेरो अनुपस्थितिमा बोर्ड किन सोचेजस्तो क्रियाशील हुन सकेन त ? मिटिङ त भएकै छन्, अनि किन रिजल्ट छैन ? म अमेरिका भ्रमण आउनुअघि निर्णय गरेर मैले पूर्व योजनासमेत तयार पारेको (ई–टिकेटिङ) घोषणा गरे अनुरूप ३ महिनामा किन लागू हुन सकेन ? मैले कार्यान्वयन गर्न लागेका यी र यस्तै मुद्दाहरू रोक्न खोज्ने शक्तिहरूकै कारण पूरा कार्यकाल अगावै नियम कानुन विपरित बोर्ड सदस्य हेरफेर गर्ने काम भएको छ ।

यसको निमित्त बनेका छन् वर्तमान सञ्चारमन्त्री शेरधन राई । मैले देशको यस्तो विषम परिस्थितिमा पनि देश फर्केर ई–टिकेटिङलगायतका विषयहरू अघि बढाउन बोर्डका कर्मचारी साथीहरूसँग छलफल अघि बढाउँदै गर्दा यस्तो गैरकानुनी कार्य किन र कसरी भयो त ? यो प्रश्नको उत्तर आम चलचित्रकर्मीले बुझेकै छन् ।

प्रतिक्रिया