क्षतिको लगत संकलनमा सहयोग गर्न आग्रह

काठमाडौं, १३ माघ । केन्द्रीय तथ्यांक विभागले वैशाख १२ को गोरखा भूकम्पबाट भएको क्षतिको लगत संकलन कार्यमा खटिएका विभागका सर्भेक्षण टोलीलाई सहयोग गरिदिन अपिल गरेको छ । संकलन गरेको तथ्यांकका आधारमा प्रत्येक आवासीय घरको क्षतिको विस्तृत आँकलन भई वास्तविक पीडितको पहिचान हुने र यसले पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न सहयोग पुग्ने भन्दै विभागले सहयोग गरिदिन आग्रह गरेको हो ।

विभागका उपमहानिर्देशक डा रुद्र सुवालले सबै घरपरिवार तथा व्यक्तिको प्राप्त विवरणबाट सामाजिक सुरक्षा कार्यक्रमलगायत अन्य कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुग्ने तथ्यांक संकलनमा सबैको सहयोग आवश्यक भएको बताए । यस सर्भेक्षणमा विज्ञ सर्भेयरले ‘ट्याब्लेट’ प्रयोग गरी संकलन गरेको तथ्यांक इन्टरनेटमार्पmत सोझै सिंहदरबारस्थित सरकारी एकीकृत तथ्यांक केन्द्रमा र विभागको सर्भरमा प्राप्त हुने उनको भनाइ थियो ।

प्रभावित क्षेत्रमा दिगो पुर्निनर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न अत्यावश्यक तथ्यांकका आधार तयार गर्ने उद्देश्यले दोलखा जिल्लाबाट भूकम्पप्रभावित आवास पुर्निनर्माण लगत संकलन कार्यक्रम सुरु भइसकेको छ । अति प्रभावित उल्लिखित जिल्लामा सबै आवासीय घरको इन्जिनियरबाट विस्तृत जाँच गर्ने र ती घरमा बस्ने परिवारको आर्थिक, सामाजिक र जनसांख्यिक विवरण लिइने उपमहानिर्देशक डा सुवालले बताए ।

डा सुवालका अनुसार लगत संकलनमा अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सम्झौता बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको सहकार्यमा समन्वय भइरहेको छ । अन्तर्राष्ट्रिय दातृ निकायका तर्फबाट विश्व बैंकले संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवामार्पmत जनशक्ति र अन्य आवश्यक सामग्रीको व्यवस्था मिलाएको र राष्ट्रिय गैरसरकारी संस्था स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च र काठमाडौं लिभिङ ल्याब पनि संलग्न छन् ।

उक्त भूकम्पबाट पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलका ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र गोरखा गरी १४ जिल्ला बढी प्रभावित भएका छन् । यस भूकम्पले अन्य जिल्लामा समेत जनधन र महत्वपूर्ण भौतिक संरचनामा ठूलो नोक्सानी पु¥याएको थियो ।

प्रतिक्रिया