सहकारी ऐन ल्याइँदै

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले सहकारी क्षेत्रमा भएका विसंगतिलाई व्यवस्थित गर्न सहकारी ऐन–२०७२ ल्याउने तयारीमा रहेको जानकारी दिए ।

मुलुकको अर्थतन्त्रको तीनखम्बामध्येको एक खम्बाका रुपमा रहेको सहकारीलाई नियमन गर्नुपर्नेमा जोड दिँदै उनले सहकारी ऐन तर्जुमा भई संसद्मा पुगिसकेको उल्लेख गरे ।

मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले राष्ट्रिय सहकारी नीति–२०६९ कार्यान्वयनमा आइसकेको जानकारी दिँदै केही सहकारीमा रहेको समस्याका कारण सम्पूर्ण सहकारी बद्नाम हुन पुगेको धारणा राखेका थिए ।

मन्त्रालयले सहकारी प्रशिक्षण केन्द्रलाई राष्ट्रिय सहकारी प्रतिष्ठानको रुपमा स्थापित गर्न सम्भाव्यता अध्ययन गर्ने र पुनः निर्माण गर्ने कार्य अघि बढाएको जानकारी दिएको छ ।

नेपालभर करिब ३३ हजारको सङख्यामा सहकारी छन् ।

प्रतिक्रिया