ज्वाइँ–जेठानको ब्रेकफेल’

BREAKFAIL copyकाठमाडौं । नेपाल टेलिभिजनबाट विभिन्न समयमा प्रशारण हुने हाँस्य टेलिशृंखलाको प्रशारण बन्द भएपछि दुःखी भएका दर्शकका लागि खुसीको खबर आएको छ ।

‘जिरे खुर्सानी’का झगडालु ज्वाइँ–जेठान शिवहरि पौडेल (मुखाँ हान्नु जस्तो) र किरण केसी (ए राता मकै) नयाँ सिरियल लिएर दर्शकमाझ आउँदैछन् । ‘जिरे खुर्सानी’का जितु नेपाल भने ‘ब्रेकफेल’मा रहने छैनन् ।

केसी र पौडेलको निर्देशनमा नयाँ सिरियल ‘ब्रेकफेल’ को तयारी भएको हो । यद्यपि, उनीहरू नयाँ सिरियलमा पहिलेको भूमिकामा भने देखिने छैनन् । सँधै एउटै संवाद बोल्दा दर्शकलाई दिक्क लाग्न सक्ने भएर नयाँ अवधारणामा नयाँ पात्रहरू सिर्जना गरेर सिरियल बनाइएको केसीले बताए ।

‘जिरे खुर्सानी’मा ज्वाइँ–जेठान बनेर खेल्दा केसी र पौडेलबीच कहिल्यै मेलमिलाप देखिएन । सिरियलमा एकअर्काको अस्तित्वलाई दुवैले अस्वीकार गर्ने उनीहरूको सम्बन्ध वास्तविक जीवनमा भने अर्कै छ । ‘सिरियलमा झगडा गरिरहे पनि वास्तविक जीवनमा हामी मिल्ने साथी हौँ,’ उनले भने, ‘नयाँ सिरियलबाट हाम्रो पुरानो सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

शिवहरि पनि नयाँ सिरियलप्रति निकै आशावादी छन् । यसअघि जितु नेपालसँग संयुक्त निर्देशन गरेका पौडेल केसीसँगको सहयात्रा पनि फलिफापपूर्ण हुने बताउँछन् ।

समाजमा भइरहेका विकृति र विसंगतिलाई शृंखलाबद्ध रूपमा प्रहार गर्दै जाने योजनामा रहेका यी कलाकारद्वयले सिरियललाई रसिक पनि बनाउने बताए ।

प्रतिक्रिया