अमेरिकाको हिमआँधीमा २५ को मृत्यु

वासिंगटन । पूर्वी अमेरिकामा हिमआँधीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । शुक्रबारदेखि सुरु भएको हिमआँधीका कारण आइतबार रातीसम्म मृत्यु हुनेको संख्या २५ पुगेको बताइएको छ । आँधीका कारण उक्त क्षेत्रका सरकारी कार्यालयहरू आइतबार पनि खुल्न नसकेका देखिएको छ । हिउँले ढाकेपछि बाटो र बस्तीमा ठूलो असर परेको छ । यसबाट कयौँ राज्य प्रभावित भएका छन् । प्रभावित राज्यहरूमा २६ इन्चसम्म हिउँ जमेको पाइएको छ । न्युयोर्कमा पनि भारी हिमपात भएको छ । त्यहाँका सरकारी कार्यालय एवं बस्तीहरू पनि नराम्ररी प्रभावित भएका छन् ।

सो क्षेत्रमा बसोवास गर्ने करोडौँ मानिस प्रभावित भएको ‘नेसनल वेदर सर्भिस’ (एनडब्लुएस) ले जानकारी दिएको छ । मौसमविदहरूले यस शताब्दीकै ठूलो हिमपात भनेका छन् । हिमआँधीका कारण हजारौँ हवाई उडान सेवा अवरुद्ध भएका छन् । उक्त क्षेत्रका सहरी इलाकामा सञ्चालित बस तथा रेल सेवा शुक्रबारदेखि सोमबार बिहानसम्मका लागि बन्द गरिएका छन् ।

अमेरिकाका मौसमविदहरूले सन् १९२२ यताकै ठूलो हिम आँधी हुने दाबी गरेका छन् । सन् १९२२ मा आएको हिम आँधीका कारण करिब २८ इन्चसम्म हिउँ जमेको र यसका कारण १ सय जनाको मृत्यु भएको थियो । यसपटकको यो शक्तिशाली हिम आँधीका कारण कयौँ दुर्घटना भएका छन् र यीमध्ये २ ठाउँमा भएका घटनामा ठूलो क्षति पुगेको अधिकारीहरूको भनाइ छ ।

हिमपातका कारण विशेषगरी अर्कान्सास, टेनिसी, केन्टुकी, उत्तरी क्यारेलिना, पश्चिमी भर्जिनियालगायत १८ राज्य प्रभावित भएका छन् । यहाँको मौसमसम्बन्धी समाचार सम्प्रेषण गर्ने टेलिभिजन प्रसारण च्यानलले उद्वारको कार्य जारी रहेको बताएको छ । हिमआँधीले समस्याग्रस्त अवस्था बनेको क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ । विद्युतीय आपूर्ति एवं टेलिफोन लाइनमा पनि समस्या उत्पन्न भएको बताइएको छ । उद्वारकर्ताहरूले प्रभावित नागरिकलाई सुरक्षित स्थानतर्पm लगिरहेको र उद्वारको कार्य सशक्त रूपमा भएको पनि सिएनएन टेलिभिजनले जनाएको छ ।

हिमपातका कारण एक अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको पनि प्रारम्भिक अनुमान गरिएको समाचारमा उल्लेख छ । तर, हाल उद्वारको कार्य मात्र जारी रहेकोले यसबाट भएको क्षतिको पूरा विवरण भने आइसकेको छैन । (एजेन्सी)

प्रतिक्रिया