राहत होइन दिगो सीपमूलक कार्यक्रम देउ

काठमाडौं , ४ माघ । गत वैसाखमा गएको भूकम्प पीडितहरुले राहात अस्थायी समाधानमात्र भएकाले स्थायी समाधान खोज्न सिपमुलक तालिम आवश्यक भएको बताएका छन् । केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित बरुवा, बाँसखर्क, दुवाचौरलगायतका गाविसमा पुगेको सामाजिक कार्यकर्ताहरुसँग पीडितहरुले यस्तो बताएका हुन् । ती सस्ँस्थाहरुले त्यस क्षेत्रमा खाद्य सुरक्षा तथा जीविको पार्जन, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन तथा लैङ्गिक हिंसा न्यूनीकरण र अस्थायी आवाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

स्वास्थ्य खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत लागर्चे गाविसको लागर्चे माध्यमिक विद्यालयलगायतका अन्य तीन विद्यालय र स्वास्थ्य चौकीमा गरी १२ वटा, थांपालकोटको रैथाने माध्यमिक विद्यालयलगायतका अन्य तीन विद्यालयमा १३ वटा, बरुवाको विभिन्न विद्यालय र स्वास्थ्य चौकीमा गरी १६ वटा र अन्य विभिन्न गाविसमा गरी जम्मा ८२ वटा संस्थागत चर्पी निर्माण गरी वितरण गरिएको सामुदायिक आत्मनिर्भरता केन्द्रको कार्यक्रम संयोजक रश्मी पण्डितले जानकारी दिएकी छन् । भूकम्पपछि जिल्लाका बरुवा, भोताङ र बाँसखर्कका खानेपानी योजनाहरू कतिपय पहिरोले पुरिएका र भूकम्पका कारण फुटेका भोताङको घ्यूघर खानेपानी योजना, बरुवाको डालेगाउँ खानेपानी योजनालगायतका योजनामा पाइपलाइन विस्तार तथा मर्मत सम्भारका लागि चाहिने सम्पूर्ण सामग्री गरी ११ लाख १७४ रुपैयाँको लगानीमा उक्त योजना मर्मत गरिएको केयर नेपालमा कार्यरत खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका प्राविधिक सुरज परियारले जनाए ।

उक्त तीन संस्थाको साझेदारीमा खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि भूकम्पबाट अतिप्रभावित गाविसमध्येको बरुवा, बाँसखर्क, दुवाचौर गाविसका किसानका लागि धानको बीउ, कोदोको बीउ तथा तरकारी उत्पादनका लागि आलु, केराउलगायतका बीउबिजन वितरण गरिएको र टनेल निर्माणका लागि आवश्यक सामग्री दिएको केयर नेपालका जिल्ला प्रमुख जीवन केसीको भनाइ छ । भोताङ, बरुवा र बाँसखर्कका अति विपन्न परिवार, अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी महिला, मृतक परिवार र नाबालकको पहिचान गरी उक्त तीन गाविसका एक हजार एक सय घरधुरीलाई निःशर्त प्रतिघर १५ हजारका दरले १६ करोड पाँच लाख रुपैयाँ वितरण गरिएको हो ।

महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले समाजमा बढिरहेको लैंगिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनले पहिलेको तुलनामा लैङ्गिक हिंसा निकै कम भएको र लैङ्गिक हिंसासम्बन्धी ज्ञान प्राप्त भएको बाँसखर्कका विद्यार्थी निर्मला श्रेष्ठले बताइन् । भूकम्पपछि कियर नेपाल र सामुदायिक आत्मनिर्भर केन्द्रको सहयोगमा पहिलो चोटी टनेलभित्र गोलभेँडा उत्पादन गरेको र उक्त गोलभेँडा बिक्रीबाट रु १३ हजार मुनाफ भएको र अझै उत्पादनअनुसार रु ३३ हजारभन्दा बढी नाफा आर्जन गर्न सकिनेमा आफू विश्वस्त भएको बाँसखर्क– २ का रेक्पा तामाङले भने ।

संस्थाले तरकारी उत्पादनका लागि बीउबिजन, औषधि र औषधि प्रयोगका लागि पम्पसमेत वितरण गरेकाले उक्त व्यवसायबाट मुनाफा आर्जन गर्न सफल भएको तामाङको भनाइ छ । तरकारी व्यवसायबाट फाइदा हुने भएपछि गाउँभरि नै उत्पादन गर्नका लागि बाँसखर्कका स्थानीयवासीलाई पे्ररित गरिरहेको उनले बताए । भूकम्पअघि गाउँका प्रायः बासिन्दाले तरकारी किनेर खानुपरेको थियो तर भूकम्पपछि गाउँमा तरकारीदेखि लिएर उत्पादनमूलक स्वरोजगार प्रदान गरेको र खानेपानी निर्माणले समेत बाँसखर्कवासी निकै खुसी भएको बाँसखर्क गाविसकी स्थानीयवासी तथा सामुदायिक आत्मनिर्भरता केन्द्रमा कार्यरत सपना बोम्जनले बताए ।

संस्थाको राहत केही समयका लागि मात्र रहने भएकाले अब दिगो हुने किसिमको सीपमूलक कार्यक्रम ल्याउनुपर्नेमा बरुवावासीको भनाइ । संस्थाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा भौगोलिक अवस्था र उत्पादनको हिसाबले ठाउँअनुसारको बीउ र उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने बरुवाका कृषक पासाङ लामाको धारणा रहेको छ । भूकम्प प्रभावित क्षेत्रमा जनचेतना, उत्पादनमूलक कार्यक्रम, स्वास्थ्यसम्बन्धी कार्यक्रम, भूकम्पबाट टुटेफुटेका खानेपानी आयोजनाको मर्मत, लैङ्गिक हिंसा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालनले ठूलो राहत मिलेको र आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको बाँसखर्कका वाङ्दी दोङले बताए ।

प्रतिक्रिया