५ माघ अघि नै मोर्चाका माग सम्बोधन गरिने

काठमाडौं, ३० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागलाई आगामी ५ माघभित्रै सम्बोधन गर्न प्रमुख तीन दलबीच समझदारी बनेको छ । ५ माघमा बस्ने संसद् बैठकअघि नै आन्दोलनरत मोर्चाका मागलाई सम्बोधन गर्ने गरी लिखित सम्झौताका लागि तयारी गर्ने सहमति भएको तीन दलबीच बिहीबार भएको बैठकमा सहभागी नेताले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान प्रमुख प्रतिपक्ष दल कांग्रेस, सत्तारूढ दल एमाले र एमाओवादीका नेताहरुको बैठक बसेको हो । बैठकपछि प्रतिक्रिया दिँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘मधेसी मोर्चासँग भइरहेको वार्तालाई छिट्टै निष्कर्षमा पु-याउन गृहकार्यलाई तीब्र बनाउने योजनाअनुसार अब बस्ने कार्यदलको बैठकमा मधेसी मोर्चाका मागलाई सकारात्मक ढंगमा सम्बोधन गर्ने काम अगाडि बढाउनुपर्छ भन्नेबारे आज समझदारी भएकोे छ ।’

उपाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार बस्ने कार्यदलको बैठक र शनिबार बस्ने शीर्ष दलको बैठकमा मधेसी मोर्चाका मागलाई ५ माघमा बस्ने संसद्को बैठक अगाडि नै टुंगो लाग्ने गरी छलफल गरिनेछ । कांग्रेस नेता महेश आचार्यले संविधान संशोधन, सीमांकन, नागरिकता, समावेशीतालगायत विषयलाई शुक्रबार बस्ने कार्यदल बैठकमा सकारात्मक ढंगबाट राख्नेबारे सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया