थियटर भिलेजमा ‘मालिनी’

काठमाडौं, २५ पुस । लाजिम्पाटस्थित थियटर भिलेजमा भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरले लेखेका नाटक ‘मालिनी’को मञ्चन सुरु भएको छ । कक्षा ११ को अनिवार्य अंग्रेजीमा रहेको यो नाटकलाई विमल सुवेदीले परिकल्पना तथा निर्देशन गरेका छन् ।

एक राज्यका राजकुमारीका रूपमा रहेकी ‘मालिनी’ ले आफ्नो राज्यका प्रजाबीच बौद्ध धर्म र त्यसको सन्देशलाई पु¥याउन खोजेको सन्देश नाटकमा रहेको छ । राज्यमा रहेका अन्य धर्मका गुरुले बौद्ध धर्मलाई नमान्ने र उनीलाई राज्यबाट नै निकाला गरिनुपर्छ भन्ने माग गरिरहेका बेला मालिनीले आफू राज्यबाट निकालिन तयार छु तर बुद्धका सन्देशलाई फैलाउन छाडदिन भन्ने अभिव्यक्तिले नाटकको मुलभाव प्रस्टीएको छ ।

नाटकमा राजकुमारी भइकन पनि शृङ्गार, उच्चस्तरको वस्त्रमा कुनै लगाव नहुनु । उनका पिता राजाले उनलाई राजकुमारी झैँ शृंगार, वस्त्र लगाउन आग्रह गरेपनि उनले पितालाई नै तर्कबाट चुप लगाइदिन्छिन् । उनको विरुद्ध रहेका ब्राह्मणमध्ये सुप्रिय पछि उनका अनुयायी बन्छन् । अर्का ब्राह्मण भने राजकुमारीलाई देशनिकाला गर्न अर्को देशमा जान्छन् । पछि उनी फर्कदा सुप्रियले त्यो कुरा राजकुमारीलाई बताइसकेका हुन्छन् र ती ब्राह्मण पक्राउ पर्छन् ।

अन्तिममा आफ्नै साथीबाट धोका भएको भन्दै सुप्रियलाई ती ब्राह्मणले मारिदिन्छन् । ब्राह्मणलाई पनि मृत्युदण्ड दिइन्छ र नाटक सकिन्छ । नाटकमा प्रयोग गरिएका स–साना वस्तुमा ध्यान दिइएकाले नाटक अत्यन्त भव्य देखिएको छ । खाना खाने प्लास्टिकका प्लेटको प्रयोग र प्रकाशको संयोजन अत्यन्त सुन्दर र भव्य देखाउन मद्दत गरेको छ । राजाले लगाएको पहिरनमा चाउचाउको खोलको प्रयोग गरिएको छ तर त्यो स्पष्ट नदेखिँदा गहना जस्तो देखिएको छ । मालिनीले लगाएको कपडा प्लास्टिकलाई च्यातेर लामो लामो पारेर बनाइएको छ । यसले कलात्मकता प्रदान गरेको छ ।

नाटकमा मालिनीको भूमिका रोजिता बुद्धाचार्यले रहेकी छिन् भने राजाको भूमिकामा दिलीप रानाभाट, किमांकरको भूमिकामा सुजन ओली, ब्राह्मणको भूमिकामा सरोज अर्याल र सुप्रियको भूमिकामा श्रवण राना रहेका छन् ।

मालिनीको भूमिकामा रहेकी कलाकार रोजिताले नाटककै लागि भनेर आफ्नो केश मुन्डन गरेकी छिन् । नाटक अवधिभर उनलाई केशरहित अवस्थामा देख्न सकिनेछ । यही पुस २३ गतेदेखि सुरु भएको सो नाटक आगामी माघ ३ गतेसम्म मञ्चन गरिनेछ ।

प्रतिक्रिया