कोइराला र फेल्टम्यानबीच भेटवार्ता

काठमाडौं, २५ पुस । कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइराला र नेपाल भ्रमणमा रहेका राष्ट्र संघका उपमहासचिव जेफ्री फेल्टम्यानबीच शनिबार भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटमा कोइरालाले समस्या समाधान गर्न वार्ता र संवाद अगाडि बढिरहेको र यही विधिबाट नै समाधान निस्कने विचार राखेको थिए । उनले प्रजातान्त्रिक विधि र प्रक्रियाबाटै देशका समस्या समाधान गरिने बताएका छन् ।

कोइरालाले भने, ‘अघोषित नाकाबन्दी र असहज आपूर्तिका कारण देखिएको मानवीय सङ्कटका समाधान गर्न संसद्मा पहिलो दलका हैसियतले नेकाले वार्ता प्रक्रियालाई अगाडि बढाइरहेको छ, अब छिट्टै समाधान निस्कन्छ ।’

सभापति कोइरालाका कूटनीतिक मामिला सल्लाहकार डा दिनेश भट्टराईले सभापति कोइरालाले समस्या समाधान गर्न संयुक्त राष्ट्र संघका महासचिवबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै नयाँ संविधान जारीपछि उत्पन्न अवस्थालाई सम्बोधन गर्न संसद्मार्फत संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएका थिए । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा आन्दोलनरत् पक्षका माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गराइएको पनि कोइरालाले जानकारी दिएका थिए ।

सो अवसरमा उपमहासचिव फेल्टम्यानले मानवीय संकट अन्त्य होस् भन्ने धारणा राखेका थिए । उनले विश्वमा शान्ति, समृद्धि र सुरक्षामा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालको विकास, राजनीतिक स्थायित्व र दिगो शान्तिका लागि संयुक्त राष्ट्रसंघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सल्लाहकार डा भट्टराईले बताए । दुइनेताबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रतिक्रिया