काठमाडौं, २३ पुस । शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बागमती’ले हलमा दर्शकको संख्या बढाउनका लागि निर्माताहरूले अहिले अनेक उपाय अपनाइरहेका छन् ।
यसैबीचमा महानायक राजेश हमालको कमब्याक चलचित्र भनेर प्रचारप्रसार गरिएको फिल्म ‘बागमती’ले पनि प्रचारमा नयाँ शैली अपनाएको छ । आफ्नो प्रचारलाई भिन्न तवरले अगाडि बढाइरहेको चलचित्र ‘बागमती’ले बिहीबार पत्रकार सम्मेलन गर्दै दर्शकलाई हलसम्म तान्नका लागि नयाँ उपहारको घोषणा गरेको छ ।
आजबाट हलमा लाग्ने यो चलचित्रको निर्माणपक्षले बाइकदेखि सुनको सिक्कासम्म उपहार योजना ल्याएको छ । चलचित्रको टिकटसँगै वितरण गरिएको कुपनमै यी उपहारहरू रहनेछन् । टिकटसँगै वितरण गरिएको कुपन दर्शकले हलमा राखिएको ‘बागमती’को बक्समा राख्नुपर्नेछ । हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरी एक जना भाग्यशाली दर्शकलाई सुनको सिक्का दिइनेछ । यस्तै, हरेक हप्ता मोबाइल फोन, होलिडे प्याकेज, कलाकारसँग डिनर, सिक्री, औँठी, बाला दिइनेछ । यस्तै सम्पूर्ण दर्शकमध्ये एक जनालाई बम्पर उपहार स्वरूप इलेक्ट्रिक बाइक उपलब्ध गराउने बताइएको छ ।
फिल्मको कुपनको पछाडिपट्टी राखिएको फर्म भरेर कोही पनि कलाकार बन्न चाहने दर्शकले ‘नेक्स्ट बिग स्टार कन्टेस्ट’मा भाग लिएर यो ब्यानरले बनाउने चलचित्रमा खेल्ने अवसर पनि पाउनेछन् । कार्यक्रममा चलचित्रका मुख्य कलाकार राजेश हमाल उपस्थित नभए पनि फिल्मका अन्य कलाकार शिव श्रेष्ठ र केकी अधिकारी उपस्थित थिए । चलचित्रको सुरुआतमै राजेश हमाल र शिव श्रेष्ठको १० मिनेट लामो एक्सनको सिन भएकाले पनि नछुटाउन दर्शकलाई निर्माणपक्षले आग्रह गरेको छ । कार्यक्रममा फिल्म निर्माण युनिटले चलचित्र पत्रकार संघलाई नगद ३० हजार सहयोग पनि गरेको थियो । चेक निर्माण पक्षले संघका अध्यक्ष शान्तिप्रियलाई चेक हस्तान्तरण गरेका थिए । १ घन्टा ४० मिनेट लामो यो चलचित्रको सिक्वेल बनाउने घोषणा पनि गरिसकेको फिल्ममा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरीको मुख्य भूमिका रहेको छ ।
ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । दिनेश दर्शनधारी र विजय सत्यालले चलचित्रलाई निर्माण गरेका हुन् ।
प्रतिक्रिया