दर्ताविहीन हेवी इक्यूपमेन्ट नियन्त्रणमा

heavyकाठमाडौं, २२ पुस । यातायात व्यवस्था विभागले नम्बर प्लेट नराखिएका र दर्ता नभएका हेभी इक्वीपमेन्टहरू नियन्त्रणमा लिन सुरु गरेको छ । जथाभावी हेभी इक्वीपमेन्टहरू ल्याएर दर्ता नै नगरी चलाउने क्रम तीब्र भएपछि विभागले निर्माणमा प्रयोग हुने हेभी इक्वीपमेन्टको अनुगमन सुरु गरेको हो ।

विभिन्न निर्माणका क्रममा प्रयोग हुने एक्स्काभेटर, डोजर, लोडर लगायतका ठूला उपकरणमाथी निगरानी बढाइएको विभागका निर्देशक तथा प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । सोही अभियान अन्तरगत खटिएको अनुगमन टोलीले बुधबार बिहान एउटा एक्स्काभेटरको कागजपत्र नियन्त्रण लिएको छ ।

नम्बर प्लेट नराखी चलाइएको पाएपछि विभागले एक्स्काभेटरका चालकको अनुमतिपत्र सहित स्काभेटरका कागजात नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए । विभागले स्काभेटरको ब्लुबुक लिएर विभागमा उपस्थित हुन सम्बन्धित एक्स्काभेटर मालिकलाई निर्देशन दिएको छ ।
‘ठूला यन्त्र उपकरणमा नम्बर प्लेट नराख्ने क्रम तीब्र भएको पायौ । त्यसैले अनुगमन सुरु गरेका हौं ।’ निर्देशक अधिकारीले भने, ‘जथाभावी नम्बर प्लेट नराखेर चलाउनु गैरकानुनी हो ।’

प्रतिक्रिया