काठमाडौं, २१ पुस । संयुक्त मधेसी मोर्चाले प्रमुख तीन दलको कार्यदलसँग छलफल गरी सहमति जुटाउन आफ्नो तर्फबाट पनि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
तमलोपको कार्यालय बिजुलीबजारमा मंगलबार बसेको मोर्चाको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । मोर्चाले बनाएको कार्यदलमा तमलोपका हृदयेश त्रिपाठी, संघीय समाजवादीका राजेन्द्र श्रेष्ठ र तमसपका रामनरेश यादव छन् ।
मोर्चाको एउटा घटक सद्भावना पार्टीका प्रतिनिधि कार्यदलमा छैनन् । सद्भावना मोर्चाको बैठकमा सहभागी थिएन । सद्भावनाले विराटनगर नाकामा आफ्ना अध्यक्ष राजेन्द्र महतोमाथि भएको आक्रमणमा सरकारले माफी नमागेसम्म कुनै पनि वार्ता नगर्ने निर्णय गरेको छ र आन्दोलनका अलग्गै कार्यक्रम पनि घोषणा गरेको छ ।
मोर्चा र प्रमुख तीन दलका शीर्ष नेताबीच आइतबार बेलुका बालुवाटारमा भएको वार्तामा कार्यदल बनाएर सहमति जुटाउन प्रयास गर्ने समझदारी भएको थियो । त्यही समझदारीअनुसार तीन दलले पनि मोर्चासँगको वार्तालाई निश्कर्षमा पु¥याउन तीन सदस्यीय कार्यदल गठन गरिसकेको छ । कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भीम रावल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् । अब दुवै कार्यदलबीच वार्ता अघि बढ्नेछ ।
तराई–मधेसको आन्दोलनलाई सम्बोधन गर्न सरकारले पेस गरेको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएर संशोधनको प्रक्रियामा प्रवेश गरेको छ । विधेयकमाथि छलफल सोमबार सकिएको हो । विधेयकमा संशोधनका लागि ७२ घन्टाको समय दिनुपर्ने प्रावधान छ । संशोधनका लागि उपलब्ध हुने ७२ घन्टाभित्र मधेसी मोर्चासँग छलफल गरेर सहमति जुटाउने कसरतमा दलहरू लागेका छन् ।
प्रतिक्रिया