अझै सुचारु भएन मेलम्चीको निर्माण कार्य

melamchi copyकाठमाडौं, १९ पुस । भूकम्पपछि अघि बढ्न नसकेको मेलम्चीको सुरुङ निर्माण कार्य नाकाबन्दीपछि थला परेको छ । नाकाबन्दीपछि यसको सुरुङ निर्माणको कुनै पनि काम अघि बढ्न सकेको छैन । सुरुङ निर्माण गर्ने जिम्मा लिएको सिएमसी कम्पनीले अहिले डिजेलको अभाव भन्दै सबै काम रोकेको छ । भूकम्पपछि नै घर गएका मेलम्चीमा काम गर्दै आएका कामदार अहिलेसम्म फर्किएका छैनन् ।

सुन्दरीजलदेखि मेलम्चीसम्म साढे २७ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ । वैशाख १२ को भूकम्प आउनुभन्दा अघि सिएमसीले १४ किलोमिटर सुरुङ खनिसकेको थियो । तर, भूकम्पपछि भने यसले ७ सय मिटर मात्रै सुरुङ खनेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिएका छन् ।

भूकम्पपछि पनि उक्त क्षेत्रमा दुईपटक पहिरो आएको कारण झनै अबरुद्ध भएको थियो । गत असोज महिनादेखि सिएमसीले फेरी काम सुरु गर्ने तयारी गरेको थियो । तर, नाकाबन्दीपछि डिजल उपलब्ध नभएको भन्दै रोकिएको काम पनि अघि बढ्न सकेको छैन ।

सिएमसीले सुरुङ निर्माणका लागि डिजलबाट विद्युत् उत्पादन गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरूले १२ घन्टासम्म लोडसेडिङ हुन सक्ने बताएपछि दोहोरो खर्च गर्न नसक्ने भन्दै डिजलमा मात्रै भरपर्ने गरी यसले निर्माण कार्य थालेको थियो ।

मेलम्ची खानेपानी आयोजना निर्माणका लागि दैनिक ७ हजार लिटर डिजल आवश्यक पर्ने कार्यकारी निर्देशक भट्टराई बताउँछन् । मासिक सबा २ लाख लिटर डिजल आवश्यक पर्ने भए पनि सरकारले अहिलेसम्म नाकाबन्दीपछि जम्मा १२ हजार लिटर मात्रै डिजल उपलब्ध गराएको भट्टराईले जानकारी दिए ।

नियमित रूपमा आवश्यक पर्ने डिजल उपलब्ध नभएपछि असोजदेखि मेलम्चीको सुरुङ निर्माण कार्य पुरै ठप्प भएको छ । मेलम्ची खानेपानी आयोजनाले ०७३ असोज सम्ममा सम्पूर्ण काम सक्न सिएमसी कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीले भने यसअघि ०७३ वैशाखमै सम्पूर्ण काम सक्ने बताएको थियो । तर, भूकम्पपछिका ८ महिनामा कुनै पनि काम अघि बढ्न सकेको छैन जसले गर्दा ०७३ असोजमै सबै काम सम्पन्न हुन्छ या हुँदैन भन्नेमा आशंका उत्पन्न भएको छ । अब जनवरी महिनाबाटै काम सुरु गरे पनि महिनामा १ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ ।

भट्टराईले भने ‘यदि सिएमसीले चाह्यो भने महिनामा एक किलोमिटर सुरुङ खन्न सक्ने उसको क्षमता छ ।’ तर, वैशाखसम्ममा पनि कम्पनीले गरेको कामलाई मात्रै मूल्यांकन गर्ने हो भनेचाहिँ एक महिनामा एक किलोमिटर सुरुङ खन्न सिएमसीले सक्दैन । भूकम्प अघि पनि सिएमसीले बेलाबेलामा विभिन्न बहानामा आफ्ना काम बन्द गर्दै आएको थियो । जसले गर्दा भूकम्प अघिसम्म पनि सुरुङ निर्माणको काम राम्रोसँग अघि बढ्न सकेको थिएन ।

भट्टराईका अनुसार सरकारले अहिलेसम्म मेलम्ची आयोजनाका लागि मात्रै १४ अर्ब खर्च गरिसकेको छ । हेडबक्स तथा सुरुङ निर्माण कार्यका लागि ४ अर्ब १० करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । त्यस्तै प्रवेशमार्ग निर्माण तथा सडक मर्मत तथा सुधारको लागि २ अर्ब ५७ करोड रूपैयाँ खर्च भएको छ । पानी प्रशोधन केन्द्र निर्माणका लागि २ अर्ब २५ लाख १० हजार रूपैयाँ खर्च भएको छ भने परामर्श सेवाको लागि ३ अर्ब ६५ करोड ९७ लाख ६० हजार रूपैयाँ खर्च भएको मेलम्ची खानेपानी आयोजनाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै उक्त क्षेत्रको जग्गा खरिद गर्नका लागि सरकारले ९२ करोड ४१ लाख ४० हजार रूपैयाँ खर्च गरेको छ भने सामाजिक उत्थान कार्य तथा वातावरण व्यवस्थापनका लागि ७४ करोड २६ लाख खर्च गरेको छ । यो आयोजना २ सय ८७ दशमलव ४ मिलियनको हो ।

सिएमसीले चीनमा कयौँ सुरुङ खनिसकेको छ । साथै यो १ सय १२ वर्ष पुरानो कम्पनी हो । तर, नेपालमा भने यसले काममा खासै राम्रो प्रदर्शन गरेको छैन । निर्माण कम्पनीको काममा ढिलाइ, वैशाख १२ को भूकम्प र नाकाबन्दीले काठमाडौंमा ०७३ असोज भित्रै मेलम्चीको पानी चुहिएला भन्नेमा पूर्णरूपमा अविश्वास पैदा भएको छ ।

प्रतिक्रिया