बाख्रापालनका लागि उपभोक्ताको रुची

भैरहवा । उपभोक्ताहरूले उन्नत जातका बाख्रापालनका लागि चाखपूर्वक जानकारी लिने गरेका छन् । बाख्रापालनबाट आम्दानी पनि राम्रो हुने र लगानी पनि सुरक्षित हुने भएकोले उपभोक्ताहरूको रोजाई बाख्रापालनतर्फ हुने गरेको पाइएको हो ।

बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलामा महिला सहकारी समूहले खसीबोका प्रदर्शन गर्दै बाख्रापालनतर्फ उपभोक्तालाई तान्ने प्रयास गरेको हो । हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित साना किसान उद्यमी सवलीकरण परियोजना रुपन्देही सैनामैना तथा पाल्पा बौघागुम्बामा गठित उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले उपभोक्तालाई बाख्रापालन गर्ने तरिका सिकाइरहेको छ ।

उपभोक्ताहरूले स्टलमा आई चासोपूर्वक बाख्रापालनबारे जानकारी लिने गरेको र यसबाट हुने फाइदा बेफाइदाबारे बुभ्mने गरेको सहयोगी संस्था आरएसडिएमका प्राविधिक संयोजक विष्णु रेग्मीले जानकारी दिए ।

उनका अनुसार सहकारी संस्थाले किसान तथा चासो राख्ने व्यक्ति विशेषलाई प्राविधिक सेवा, परामर्श सेवाका साथै खोर निर्माण, बाख्रापालन गर्ने तरिका, घाँसको विकास कोसे र अकोसे, स्थानीयस्तरबाट दाना बनाउने तरिका सिकाउने गरेको छ ।

आगामी दिनमा सहकारीहरूले सस्तो सुलभ पसलहरूलाई व्यवस्थित गर्ने, खसीबोका संकलन केन्द्रको स्थापनासँगै मासुपसल सञ्चालन गर्ने र आफ्नै भवनबाट सेवा सुरुआत गर्ने लक्ष्य लिएको संयोजक रेग्मीले बताए । ‘खसीबोका संकलन केन्द्रको स्थापनाले धेरै उपभोक्तालाई फाईदा पुग्छ,’ उनले भने । उपहार सहकारी केन्द्रले पाठापाठीको स्रोतकेन्द्रसमेत स्थापना गरी सेवा दिने जनाएको छ । यसका लागि छिट्टै नै रुपन्देहीको मुर्गियामा कृषि संकलन केन्द्र स्थापना गरिने भएको छ ।

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था पाल्पाकी उपाध्यक्ष कला भण्डारीले आफ्नो सहकारीमा ५ सय ३७ जना महिला सदस्य रहेको र सबै घरधुरीले खोर बनाएर प्रतिसदस्य ३०÷३५ वटा बाख्रापालन गरिने बताए । त्यस्तै उपहार सहकारीअन्तर्गत मुर्गियामा २ हजार ७ सय सदस्य रहेका छ् । मुर्गियामा १० हजार भन्दा धेरै खसीबोका रहेको सहकारीकी अध्यक्ष होमादेवी पौडेलले बताइन् । उपभोक्ताहरूले मेलामा राखिएको स्टलमा आई सामूहिक वा एकल रूपमा बाख्रा पालनबारे जानकारी लिने गरेको पनि उनले बताए ।

प्रतिक्रिया