विद्यार्थीलाई कपडा वितरण

kapada bitaranपाँचथर, १९ पुस । क्लोथ बैंक र सहयोगी आँखा नामक संस्थाले पाँचथरमा न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेका छन । पूर्वी उच्च पहाडी र हिमाली क्षेत्रमा जारी हिमपातका कारण बढेको चिसोसँगै पहाडी क्षेत्रका बालबालिकाको दैनिकी प्रभावित भएकाले कपडा वितरण गरेको हो ।
पाँचथरको फिदिम बजारमा दुई दिनअघि सहयोगी आँखाको अगुवाइमा संकलन भएका कपडा मध्ये ७० थान आइतबार वितरण गरिएको हो ।

फिदिम उच्च माविमा आयोजित कार्यक्रममा फिदिम–२ मा रहेको थाङसाङ प्राथमिक विद्यालयका २१ जना र फिदिम उच्च माविका ४५ जनालाई पहिलो चरणमा कपडा प्रदान गरिएको हो ।

परिवारको आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले जिल्लामा कपडा वितरणको कार्य सुरु गरिएको सहयोगी आँखा पाँचथरका अध्यक्ष कमल थपलियाले बताए ।

संकलित कपडा मध्ये आइतबार स्विटर, ज्याकेट, विद्यालय पोसाक, जुत्ता चप्पललगायत वितरण गरिएको हो ।

संस्थाले सदरमुकाममा विभिन्न पसलमा पुगेर संकलन गरेका ४ सय ६ थान कपडा मध्ये पहिलो चरणमा सदरमुकाम क्षेत्रका २ विद्यालयलाई त्यतिको कपडा प्रदान गरिएको हो । जिल्लाका विभिन्न ठाउँका विद्यालयमार्फत संस्थाले कपडा वितरणको कार्य जारी राख्ने जनाएको छ ।

आइतबार पाँचथरका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको प्रमुख आतिथ्यतामा कपडा वितरण कार्य सुरु गरिएको हो । कपडा वितरण कार्यलाई इलाममा रहेको क्लोथ बैंकले समेत सहयोग गरेको छ । आर्थिक रूपमा बिपन्नहरूका लागि बैंकले सहयोग गर्दै आएको बैंकका पाँचथर प्रतिनिधि मनोज आङदेम्बेले जानकारी दिए ।

प्रतिक्रिया