भृकुटीमण्डपमा तिनदिने नवीकरणीय मेला

melaकाठमाडौं, १८ पुस । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा नवीकरणीय ऊर्जा प्रवद्र्धन मेला सुरु भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । मेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको सो मेला ३ दिनसम्म सञ्चालन हुनेछ ।

मेलामा सर्वसाधारणले विभिन्न प्रयोजनका लागि चाहिने सोलारको क्षमता तथा मूल्यका बारेमा जानकारी लिन सक्ने केन्द्रले जनाएको छ । त्यस्तै नेपाल सरकारले सोलारमा उपलव्ध गराएको अनुदान कसरी लिने, कहाँबाट लिने त्यसको प्रावधानका सम्बन्धमा पनि मेलामै जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

केन्द्रका अनुसार १ सय वाटभन्दा माथिको सोलार जडानका लागि सर्वसाधारणले २ दशमलव ५ प्रतिशत व्याजमा ऋण लिन सक्नेछन् । त्यस्तै ५ सय वाटभन्दा माथिको सोलार जडान गर्दा सस्तो व्याजको ऋणका अलवा १५ हजार रुपैयाँ जडान शुल्क पनि उपलव्ध हुनेछ ।

आफूलाई चाहिने विद्युत्को आधारमा उपभोक्ताले सोलार जडान गर्न सक्नेछन् । सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुऊर्जा आदिको प्रदर्शनी, तथा नवीकरणीय ऊर्जासम्बन्धी प्रयोगहरू प्रदर्शनीमा देखाइएको छ । प्रदर्शनीमा हालै नेपाल सरकारले सुरु गरेको सहरी क्षेत्रमा अनुदान र सुलभ कर्जासहितको सौर्य ऊर्जा प्रणाली, फोहोरमैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यासीफायर जस्ता नवीनतम प्रविधि र जडान प्रक्रियाको बारेमा समेत जानकारी दिइनेछ ।

सोलार, लघुजलविद्युत्, जैविक ऊर्जा, वायो ग्यास, वायुऊर्जा जस्ता प्रविधिका साथै वित्तीय संघसंस्था, प्रविधिहरूमा अनुसन्धानरत निकाय गरी १ सय २५ स्टलहरू मेलामा राखिएको छ । प्रदर्शनीमा विभिन्न तह र समूहका मानिसहरूको उल्लेखनीय सहभागिता रहने र नवीकरणीय ऊर्जाको बारेमा थप सकारात्मक धारणा विकास हुने विश्वास केन्द्रले लिएको छ । नवीकरणीय ऊर्जा प्रविधिको विकास नै राम्रो विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई सबै सामु पु¥याउन समेत यो प्रदर्शनी मनाउन लागिएको केन्द्रले जनाएको छ ।

हालसम्म नेपालले नेपाल सरकार र विभिन्न विकास साझेदारीहरूको सयुक्त सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमार्फत लघु जलविद्युत्बाट करिब २६ मेगावाट विद्युत् उत्पादन गरेको छ भने झन्डै ३ लाख ५० हजार वायोग्यास प्लान्ट, करिब ७ लाख सौर्य विद्युत् प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण गरिसकेको छ ।

साथै यो क्षेत्रमा विभिन्न राष्ट्रिय क्षेत्रीय तथा स्थानीय स्तरमा कार्यरत सरकारी, गैर सरकारी, निजी र वित्तीय संस्थाहरूको बीचमा सवल सकार्यको वातावरणसमेत निर्माण भएको छ । फलस्वरुप नवीकरणीय ऊर्जा प्रविधिमार्फत देशका करिब ३० लाखभन्दा बढी घरधुरी लाभान्वित भइसकेका छन् ।

प्रतिक्रिया