वैदेशिक सहायतासम्बन्धी कार्यविधि आउँदै

काठमाडौं, १८ पुस । सरकारले विपद्का समयमा वैदेशिक सहायता परिचालनसम्बन्धी कार्यविधि ल्याउने तयारी थालेको छ । गत १२ वैशाखको भूकम्पपछिको असहज परिस्थितिमा वैदेशिक सहयोगसम्बन्धीे स्पष्ट नीति नहुँदा कठिनाइलाई परेको भन्दै यस्तो नीति ल्याउन लागिएको हो ।

आउने २ महिनाभित्रै ठूलो विपद्का समयमा वैदेशिक सहायता परिचालनसम्बन्धी कार्यविधि बनाई सक्ने तयारी भइरहेको गृहमन्त्रालयका सहसचिव रामेश्वर दंगालले जनाएका छन् । सरकारले ‘तत्काल सुधार कार्ययोजना’अन्तर्गत कार्यविधिको तयारी गरिरहेको उनको भनाइ छ । कार्यविधिको अभावमा भूकम्पपछि वैदेशिक सहयोग कुन क्षेत्रमा लिने, कुन क्षेत्रमा नलिने, सहयोगमा कर लगाउने वा नलगाउने, के सहयोग लिनेजस्ता विषयमा समस्या परेको थियो ।

सहसचिव दंगालका अनुसार कार्यविधि निर्माणबारे सम्बन्धित क्षेत्रका विज्ञसँग अहिले छलफल चलिरहेको छ । राष्ट्रिय आपत्कालीन केन्द्र र सबै जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरी त्यसको कार्य सञ्चालन विधिसमेत दुई महिनाभित्र तयार गर्ने कार्ययोजनामा उल्लेख छ ।

दैवीप्रकोप उद्धार ऐनलाई विपद् व्यवस्थापन ऐनद्वारा प्रतिस्थापन गर्ने गरी ३ महिनाभित्र संसद्मा विधेयक पेस गर्ने र सुरक्षा निकायमा राष्ट्रियस्तरको खोज तथा उद्धार टोली गठन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउने तयारी गृह मन्त्रालयले गरेको छ । गत मंसिर २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा निकायको ‘तत्काल सुधार कार्ययोजना’ पारित गरी तोकिएकै समयावधिभित्र त्यो कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायमा पठाएको छ ।

प्रतिक्रिया