‘गाजलु’ निर्माताको खर्चको फुइँ

काठमाडौं । निकै नै महँगो मानिएको फिल्म ‘गाजलु’को छायांकन अन्तिम क्रममा छ । रोहित अधिकारीले निर्माण गरेको यो फिल्म निर्माण घोषणादेखि अनमोल केसी खेल्ने कुराले अनि एफडी कम्पनीले एमजीमा फिल्म किनेको लगायतका थुप्रै कुराले चर्चामा रह्यो । सुरुआतमै अनमोल केसीले १० लाखमा फिल्म ‘साइन’ गरेको भन्ने कुराले माहोल थप तताएको थियो ।

करोड बढी लगानीमा फिल्म बन्ने कुरा बाहिर आइहँदा ‘गाजलु’का कलाकारदेखि निर्देशक तथा अन्य प्राविधिकहरूको पारिश्रमिकको सूची बाहिर आएको छ । निर्मातासमेत रहेका निर्देशक हेमराज बिसीको पनि फिल्ममा लगानी रहेको बुझिएको छ ।

प्राप्त सूचीमा फिल्मका कलाकारहरू अनमोल केसीदेखि सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, गौरी मल्ल, ऋतिक शाही, कृष्ण मल्ल, विश्व बस्नेत लगायतको पारिश्रमिक २५ लाख उल्लेख छ ।’ जुनियर आर्टिस्ट’को लागि ३ लाख छ भने लाइटम्यानलाई ३ लाख, प्रोडक्सन डिजाइनरसँगै ‘एसिस्टेन्ट’लाई २ लाख, मेकअपमा १ लाख, हेयर ड्रेसर तथा ड्रेसको नाममा १ लाख, किचेनमा ६ लाख खर्च देखाइएको छ ।

सिनेम्याटोग्राफरलाई ५ लाखबढी, यातायातमा ५ लाख खर्च इन्धनमा ६ लाख, कस्ट्युममा ३ लाख तथा लोकेसनलाई ५ लाखसँगै छायांकन खर्च १५ लाख राखिएको छ । यस्तै एक्सनमा १ लाख ५० हजार, लाइट ८ लाख, क्यामेरा ७ लाख, पोस्ट प्रोडक्स्न १० लाख पब्लिसिटी १५ लाख खर्च हुने दाबी निर्माताको छ ।

यी सबै हिसाबसहित अन्य खर्चको निकाल्दा फिल्म ‘गाजलु’को बजेट १ करोड २५ लाखसम्म हुने निर्माता अधिकारीले बताए ।

प्रतिक्रिया