नवलपरासीमा बाल तथा वृद्ध गौ–आश्रम स्थापनाका लागि पहल

परासी । नवलपरासीमा बाल तथा वृद्ध गौ–आश्रम स्थापनाका लागि काम अघि बढाइएको छ । नवलपरासीको रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालयको अगुवाइमा उत्पादन दिन छाडेका, सडकमा छाडिएका वृद्ध गाई र बाच्छा व्यवस्थापनमा देशमा नै पहिलो वृद्ध गाई र बाच्छा वृद्धाश्रम स्थापना कार्य अघि बढाइएको हो । जटायू रेस्टुरेन्टसँग समन्वय गरी मृत गाईको व्यवस्थापनका लागि समेत कार्ययोजना अघि बढाइएको सामुदायिक प्राकृतिक चिकित्सालयका प्रशासनिक प्रमुख हरि सुवेदीले जानकारी गराए । आश्रममा बाल तथा वृद्ध गौको पालनपोषण, घाँस एवं चरन क्षेत्रको व्यवस्थापन पराल, दानाको व्यवस्थापन, औषधि उपचार, गाई बाच्छा बोक्ने गाडी र गाई राख्ने ठाउँ तथा गोठको व्यवस्थापन गरी आश्रमको स्थापना गर्न लागिएको हो ।

पहिलो चरणमा १ सय अनुत्पादक गाईबाच्छाको व्यवस्थापनबाट सुरु गर्न लागिएको बाल तथा वृद्ध गौ–आश्रम स्थापनाले पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन मिल्ने किसान अनुवागोपाल श्रेष्ठ बताउँछन् । नेपालमा अनुत्पादक गाईबाच्छा व्यवस्थापनमा चुनौतीका रूपमा देखापरेकाले नवलपरासीमा नमुनाका रूपमा बाल तथा वृद्ध गौ–आश्रमको स्थापना गर्न लागिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शंकर शाहले जानकारी गराए ।

पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बिमलकुमार निर्मलले किसानको प्रमुख समस्या अनुत्पादक गाई र बाच्छा व्यवस्थापन रहेको बताउँदै त्यसका लागि गौशाला निर्माण गरी त्यसलाई व्यवस्थापन गर्न सकिनेछ । नवलपरासी, रुपन्देही र चितवनमा गरी करिब ७० हजार अनुत्पादक गाईबाच्छाको संख्या रहेको अनुमान गरिएको छ । (सौस)

प्रतिक्रिया