आर्यघाटमा जीवन खोज्नेहरू

sabina11काठमाडौं, १७ पुस । मंसिर–पुसको कठ्यांग्रिँदो मुटु छुने जाडो । काठमाडौंको लगभग बीच भागमा बगिरहेछ, फोहोर बागमती । बागमतीमा दैनिक डढिरहेछन्, लासहरू । आफन्तका रुवाबासीको कोकोहोलोले उराठ बन्छ बागमती वरिपरिको वातावरण हर क्षण, हर घडी । यस्तो वातावरणमा पनि भ्याइनभ्याइ छ, केही बालकहरूलाई । मिरमिरे उज्यालोमा हुस्सुसँगै बागमतीमा पैसा खोज्नु छ, उनीहरूलाई । लामो डोरीमा एउटा चुम्बक बाँधेर पैसा खोज्ने कार्य सुरु हुन्छ उनीहरूको । दैनिक प्रत्येक विहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् यी बालकहरू । दिनहुँ जलाइने लासको दुर्गन्ध र आफन्तका वियोग पीडाको छटपटी हेर्ने बानी परेको छ उनीहरूलाई । मैलो कपडा, लामो कपाल उनीहरूको चिनारी नै हो ।

सन्दीप केसी तिलगंगामा फुपूसित बस्छन् । बिहानको उज्यालो हुन नपाउँदै उनी पशुपतिस्थित आर्यघाट बागमती किनारामा पैसा खोज्न आउँछन् । बिहान ६÷७ बजेबाट सुरु हुने उनको यस्तो दैनिकी साँझ आँखा देखिन्जल चलिरहन्छ । यसरी उनले दिनभरमा कहिले १ सय त कहिले २ सयभन्दा बढी पनि कमाउँछन् । त्यही पैसाले साँझ खानेकुराहरू किनेर खान्छन्, सन्दीपले । ‘२ वर्षदेखि यही काम गर्दै आएको छु,’ सन्दीप भन्छन्, ‘आजकल त रमाइलो लाग्छ ।’ आफूलाई पढ्ने रहर भएको बताउँछन् सन्दीप । उनले भने, ‘कपी किताब बोकेर स्कुल जाने रहर छ तर बुवा–आमा छैनन् फुपूसँग बसेको छु, बाँच्नकै लागि भए पनि पैसा खोज्न जानै प¥यो नि !’

यस्तै कथा छ, रविन तामाङको पनि । नुवाकोट ठाँटी भञ्ज्याङका तामाङको दैनिकी पनि उस्तै छ । १४ वर्षे रविनले विगत ४ वर्षदेखि आर्यघाट आसपास बागमती किनारमा पैसा खोजेर दिन बिताउने गरेका छन् । २ कक्षासम्म अध्ययन गरेका उनले पनि घरको आर्थिक अवस्थाकै कारण पढाइ छाड्नुपरेको रहेछ । उनी आमाबुबासँगै काठमाडौंको गौशालामा बस्छन् । बुबाआमाले पढाउन नसकेपछि उनी पनि बागमतीमा पैसा खोज्नतिर लागेका हुन् ।

रविनको पैसा खोज्ने तरिका अलि फरक छ । लामो डोरीमा चुम्बक बाँधेर बागमतीको पुलबाट हाम फाल्छन्, उनी । चुम्बकमा कहिले सुनका गहनासमेत टाँसिएर आउने गरेको उनले बताए । सुन पाएको दिन धेरै खुसी लाग्ने गरेको बताउँदै रविन भन्छन्, ‘सुन भेटेको दिन साथीभाइलाई खाजा पनि खुवाउँछु ।’

त्यसो त रविनसँग अर्को सुखद सम्झना पनि छ । उनले एकै दिन १० हजार रुपियाँसम्म बनाएका छन् । रविनले आफ्नो ४ वर्षे बागमतीको दिनचर्यामा आजसम्म चारपटक सुन फेला पारेको बताए । ‘सुरुसुरुमा मान्छेहरू रुएको देख्दा नरमाइलो लाग्थ्यो, आजभोलि त बानी परिसक्यो,’ रविनले आफ्नो अनुभव सुनाए ।

रविनजस्तै उनका साथीहरू शुभक, कुमार, भुक्के लगायतको दैनिकी पनि यसरी नै चलिरहेको छ । कसैले धेरै पैसा पाएको दिन बाँड्ने र मिलीजुली खाजा खाने गरेको रविनको भनाइ छ ।

रविन र सन्दीप प्रतिनिधि पात्र मात्र हुन्, उनीहरूजस्ता करिब ५० बालबालिकाको दैनिकी यस्तै छ । यस्तो दैनिकी भएका बालबालिकाहरू आफ्ना बाबुआमा भए घर जाने गर्छन् । अभिभावकविहीन चाहिँ आर्यघाटकै छेउमा रहेको भवनहरूमा रात बिताउने गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया