काठमाडौं । ‘मलाई चित्र साह्रै मनपर्छ, त्यसैले एउटा चित्रमा निकै बेरसम्म आकर्षित हुन सक्छु । तर, मलाई चित्र बनाउन पटक्कै आउँदैन ।’ बुधबारबाट राजधानीको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको चित्रहरू हेर्दै नायक हमालले यसो भनेका हुन् । नायक हमालले चित्रबारे आफ्नो अभिरुची प्रकाश पार्दै भने, ‘चित्रमा कलाकारहरूले प्रयोग गरेको रंगको संयोजन र चित्रको सिर्जनात्मक शैलीले मलाई आकर्षण गर्छ । बाल्यकालमा सामान्य चित्र कोरे पनि त्यसपछि चित्र बनाउने अभ्यास तिर म लागिनँ ।’ त्यसैले पनि आपूmलाई चित्र बनाउन नआएको उनले प्रष्ट्याए ।
काडमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा बुधबार दिउँसो चित्रकला प्रदर्शनी उद्घाटनमा पुगेका अभिनेता हमाल करिब डेढ घन्टा त्यहाँ प्रदर्शित चित्रसँग रमाए । त्रिविवी एमएफए द्वितीय सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेको चित्रकला प्रदर्शनीको उद्घाटन अभिनेता हमालले नै गरे । भूकम्पपीडितका लागि सहयोग गर्न गठित संस्था तथा अभियान ‘हामी उठ्ने छौँ’ ले आयोजना गरेको सो प्रदर्शनीमा अभिनेता हमालले सो अभियानको प्रशंसा पनि गरे । त्यहाँ प्रदर्शित करिब ७० चित्रकलालाई हमालले एक–एक गर्दै नियालेका थिए । चित्रकार विधार्थीले आफ्नो चित्रकलाको भावशैली, त्यसमा प्रयोग भएको रंग संयोजनको अर्थ, चित्रको बिम्बात्मक प्रयोगजस्ता विविध पक्षबारे अभिनेता हमाललाई सुक्ष्म रूपमा बुझाएका थिए ।
यसरी चित्रबारे प्रष्ट भएपछि अभिनेता राजेश हमालले हरेक जसो चित्रको प्रशंसा गर्दै भन्थे, ‘वा ओ, गजबको आर्ट रहेछ । तपाईंले यसमा राम्रो काम गर्नुभएको छ ।’ ‘यस्तो खालको चित्र बनाउने आइडिया तपाईंलाई कसरी आयो ?’ भनेर सोध्न पनि अभिनेता हमाल पछि पर्दैन थिए । यसरी अभिनेता राजेश हमालले करिब डेढ घन्टा ग्यालरीमा चित्र हेरेर बिताए । प्रकृतिमाथि अतिक्रमण, सामाजिक सांस्कृतिक विभेद, राजनीतिक विसंगती, मानवीय पीडा जस्ता विविध पक्षका चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन् । (सौस)
प्रतिक्रिया