खोटाङ, १६ पुस । उद्योग वाणिज्य संघ खोटाङले दिक्तेलका अग्निपीडितका लागि संकलन गरेको राहत रकम घर धनीसहित १० पीडित परिवारलाई प्रदान गरेको छ । वाणिज्य संघले संकलन गरेको २ लाख ५८ हजार ४ सय ५१ रुपैयाँ राहत रकम गत पुस २ गते भएको आगलागीबाट बिचल्लीमा परेका ५ घरधनीसहित १० अग्निपीडित परिवारलाई प्रदान गरेको हो ।
वाणिज्य संघले कपडा पसल सञ्चालन हुँदै आएको घरलगायतका धनमाल गुमाएर बिचल्लीमा परेका दिक्तेल नगरपालिका–२ का हीरालाल पुरीलाई २ लाख २ हजार ४ सय ५१, मोबाइल पसल सञ्चालक पर्शुराम थापा ‘आशीष’लाई २५ हजार, घरधनी रामबहादुर दाहाललाई १० हजार, रविध्वज राईलाई ५ हजार, मानबहादुर मगरलाई ५ हजार, कोठा भाडामा लिएर ब्युटिपार्लर सञ्चालन गर्दै आएकी जुनुकला राईलाई ३ हजार, भाडामा बस्ने दलबहादुर थापालाई २ हजार ५ सय, बमबहादुर रायलाई २ हजार ५ सय, टेलरिङ सेन्टर सञ्चालक कुमारसिं सुन्दासलाई १ हजार ५ सय र सैलुन व्यवसायी सन्तोष ठाकुरलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ ।
अग्निपीडित परिवारका लागि संकलित रकमको चेक संघका अध्यक्ष राजेन्द्र लयालुले हस्तान्तरण गरेका छन् । वाणिज्य संघले यसअघि आफ्नो साधारण सदस्य रहेका पुरीलाई आगलागी भएको दोस्रो दिन १ लाख १सय १ रुपैयाँ र पर्शुराम थापालाई ५ हजार ५ रुपैयाँ प्रदान गरेको थियो । आगलागीबाट सबैथोक गुमाएका परिवारको गाँस, बास र आवासको व्यवस्थाका लागि संघका तर्फबाट राहत रकम संकलन गरेर पीडित परिवारलाई प्रदान गरिएको अध्यक्ष लयालुले बताए ।
यसअघि आगलागी पीडितका लागि नेपाली कांग्रेस खोटाङले संकलन गरेको १ लाख ८१ हजार २ सय १७ रुपैयाँ राहत रकम पनि पीडितपरिवारलाई प्रदान गरिएको छ । कांग्रेसले आफ्ना कार्यकर्ता तथा सदरमुकाम दिक्तेलका व्यापारीबाट रकम संकलन गरेर अग्निपीडित परिवारलाई प्रदान गरेको हो । आगलागीमा हीरालाल पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर ध्वस्त बनेको छ । आगलागीमा परी १ कपडा पसल, ३ वटा मोबाइल पसल, १ ब्युटिपार्लर, १ सैलुन, २ होटल र १ टेलरिङ सेन्टर जलेका थिए ।
प्रतिक्रिया