प्रेस स्वतन्त्राता उल्लंघनका घटना १ सय ३६

काठमाडौं, १६ पुस । २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १ सय ३६ घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ । ती घटनामध्ये १ सय १४ घटना पछिल्लो मधेस आन्दोलनका क्रममा मात्र भएका छन् । आन्दोलनका क्रममा आन्दोलनकारी र राज्य दुवै पक्षबाट पत्रकारमाथि आक्रमणका घटना ३३, दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भएको महासंघले उल्लेख गरेको छ ।

त्यस्तै ४ सञ्चारगृहमा भौतिक आक्रमणका घटना भए । त्यसैगरी यस वर्ष ५ पत्रकारमाथि मानसिक यातनाका घटना, १२ जनामाथि ज्यान लिने उद्देश्यले आक्रमण, १३ पत्रकारलाई आफ्नो पेसाबाट वञ्चित गरिएको तथा काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ घटना भएको प्रतिवेदनले जनाएको छ ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले वर्ष २०१५ नेपाली सञ्चार क्षेत्रका लागि धेरै सन्दर्भमा दुःखद् र चुनौतीपूर्ण रहे पनि मिडिया जगतले त्यसको सामना गर्दै अघि बढेको तथा कतिपय महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गरेका छन् ।

२०१५ अप्रिल २५ मा गएका भूकम्प र परकम्पका कारण १ हजार ८ सय १३ पत्रकार र २ सय ६६ सञ्चारगृह प्रभावित भएको नेपाल पत्रकार महासंघले जनाएको छ । ‘गोरखापत्र’मा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र ‘रेडियो प्लानेट’का कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने घाइते भएका नेपालगन्जबाट प्रकाशित दैनिक ‘नेपालगन्ज’को व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भएको थियो ।

भूकम्पबाट १४ पत्रकार घाइते भएका थिए । त्यस्तै ३५ पत्रकारले नजिकको आफन्त गुमाए भने २० जनाका आफन्त घाइते भएको महासंघअन्तर्गतको मिडिया अनुगमन एकाइको प्रतिवेदनले जनाएको छ । साथै १ हजार १ सय ५८ पत्रकारका घर पूर्णरूपमा नष्ट भए भने धेरै पत्रकारको घरमा सामान्य क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा १ हजार ६ सय १८ पत्रकार तथा सञ्चारगृह प्रभावित रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया