कुनै रोकटोक छैन

modiकाठमाडौं, १६ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आपूर्ति व्यवस्थामा भारतबाट कुनै रोकटोक नभएको बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्तामा भारतीय समकक्षी मोदीले सो कुरा बताएका हुन ।

बिहीबार करिब २० मिनेट लामो टेलिफोनमा संवादमा दुवै प्रधानमन्त्रीले अंग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए । प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए ।

‘नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उनीहरूबीच कुराकानी भयो । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताएउनुभयो,’ दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगञ्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री मोदीले आपूm सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताएका थिए ।

भारतका प्रधानमन्त्री मोदीले रक्सौल वीरगञ्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरूले सो नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताए । प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भए पनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरेका छन् ।
‘प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय हितका विषयमा समेत कुराकानी भयो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

मोदीले ३ महिनायता ओलीसँग वार्ता गरेको यो तेस्रोपटक हो । प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि झापामा छन् ।

प्रतिक्रिया