सुनदरीजलमा बिपीको सम्झना

काठमाडौं, १६ पुस । सुन्दरीजलस्थित बिपी संग्रहालयमा बिहीवार बिपी कोइरालाको सम्झना गरिएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी कोइरालालाई ८ वर्षसम्म बन्दी बनाइएको सुन्दरीजल बन्दीगृह (हालको बिपी संग्रहालय) मा ४०औँ मेलमिलाप दिवस मनाइएको हो ।

०१७ पुस १ गतेको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब ३ महिना सिंहदरबारमा बन्दी बनाई फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो ।

८ वर्षपछि ०२५ सालमा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४० वर्षअघि १६ पुसमा उनीलगायत नेता नेपाल फर्केका थिए ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै बिपी, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । ०३४ जेठ २७ मा मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल फकाई प्रहरी तालिम केन्द्र महाराजगन्जमा उनलाई बन्दी बनाइएको थियो । २४ रोपनी क्षेत्रफलको बन्दीगृहलाई ०६१ भदौ २४ गते बिपी संग्र्रहालयमा परिणत गरिएको थियो ।

दिवसका अवसरमा बिहीबार बिपीको प्रतिमामा माल्यार्पण गरी उनको मेलमिलाप नीतिको सान्दर्भिकताका विषयमा स्थानीयवासीबीच छलफल गरिएको संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला बिपीले ‘श्वेतभैरवी’ कथासंग्र्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ लखेका थिए । बन्दीगृहमा बस्नुअघि ००८ मा उनको ‘दोषी चश्मा’ कथासंग्र्रह प्रकाशन भएको थियो । बिपी राजनेताका साथै नेपाली आख्यानमा मनोवैज्ञानिक धाराको प्रवत्र्तकका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया