चाउचाउको मूल्य बढ्यो

काठमाडौं, १५ पुस । नाकाबन्दीपछि बजारमा चाउचाउको मूल्य बढेर आएको छ । अधिकांश चाउचाउ उद्योगले चाउचाउको मूल्य बढाएका छन् ।

चाउचाउको मूल्य प्रति प्याकेटमै डेढ रूपैयाँदेखि तीन रूपैयाँसम्म बढेको छ । वाइवाई चाउचाउको उत्पादक चौधरी ग्रुपले एक प्याकेटमा १ रूपैयाँ ६५ पैसा बढाएको छ । साथै चौधरी ग्रुपले यसको तौल पनि अहिले १० ग्राम घटाएको छ ।

नाकाबन्दी अघि ७५ ग्राम वाइवाई चाउचाउको मूल्य १५ रूपैयाँ रहेको थियो । तर अहिले भने वाईवाई चाउचाउको मूल्य प्रति प्याकेट १६ रूपैयाँ ६५ पैसा कायम भएको छ । अहिले १६ रूपैयाँ ६५ पैसामा पाइने चाउचाउको तौल जम्मा ६५ ग्राम मात्रै छ ।

चाउचाउ उद्योग संघका अध्यक्ष अमित राठीका अनुसार अधिकांश चाउचाउ उद्योगले नाकाबन्दीपछि चाउचाउको मूल्य बढाएका छन् । कच्चा पदार्थको मूल्य बढेकाले चाउचाउको मूल्य बढाउन बाध्य भएको उनको भनाई छ ।

राठीका अनुसार अहिले ‘पाल्म आयल’ पाउन सहज छैन । ‘पाल्म आयल’ नेपालमा सिंगापुरदेखि भित्राउने गरिन्छ । नाकाबन्दीका कारण केही समय चाउचाउ उद्योगीले ‘पाल्म आयल’को अभाव भन्दै चाउचाउ उद्योग नै बन्द गरेका थिए ।

तर अहिले छिटपुट रूपमा भित्रिएको ‘पाल्म आयल’ काठमाडौ ल्याउँदासम्म धेरै महंगो पर्ने भएका कारण बाध्य भएर यसको मूल्य बढाउनु परेको उनको भनाई छ । यातायात खर्च मंहगो पर्दै गएको राठीले जानकारी दिए ।

साथै नेपालमा रहेका ‘पाल्म आयल’ रिफाइनरीले पनि पाल्म आयलको मूल्य बढाएको राठीको भनाई छ । उनले भने ‘हाम्रो चाउचाउको उत्पादनमा आवश्यक पर्ने अधिकांश कच्चा पदार्थको मूल्य बढेको छ, हरेक बस्तुको मूल्य बढेका कारण चाउचाउको मूल्य बढाउन बाध्य भएका हौँ ।’

नाकाबन्दी खुले पनि चाउचाउको मूल्य भने घट्नेमा कुनै निश्चितता नरहेको उनको भनाई छ । चाउचाउको मूल्य यसको लागतको तुलनामा निकै कम नाफा राखेर बजारमा पठाउने गरिएका कारण चाउचाउको मूल्य नाकाबन्दीपछि घट्ने सम्भावना कम रहेको उनले बताए ।

राठीले भने, ‘चाउचाउमा धेरै नै प्रतिस्पर्धा छ सकेसम्म कम मूल्यमै चाउचाउ उपलब्ध गराएर बजार आफ्नो बनाउने हरेकको चाहना हुन्छ, तर नाकाबन्दीपछि चाउचाउको मूल्य घट्छ नै भन्नेचाहि कुनै निश्चित छैन ।’

बजारमा आएको चाउचाउ प्योकटमा उल्लेख गरिएकोे मूल्यमा पनि ग्राहकले किन्न पाएका छैनन्। बजारमा पसलेहरूले एउटै वाईवाई चाउचाउको २० देखि २५ रूपैयाँसम्म लिने गरेका छन् ।

महंगो रूपैयाँ तिरेर किनेको चाउचाउको तौल घटेको छ भन्नेबारे कैयन ग्राहकलाई जानकारी नै छैन । सस्तो र छिटो तयार हुने खाजाको रूपमा मानिने चाउचाउ नाकाबन्दी पछि केही महँगो भएको छ भने अहिले जहातहीे उपलब्ध पनि छैन ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले यसलाई उपभोक्ता ठगी भनेर ब्याख्या गर्छन् । ‘कसैलाई पनि जनता ठग्ने अधिकार छैन, चाउचाउ उद्योगीले गुणस्तर, तौल र मूल्यमा ग्राहक ठगेका छन् उनीहरूलाई कानुनी दायरामा ल्याउन हाम्रो पनि प्रयास रहनेछ’ बानियाँले भने ।

मूल्यवृद्धि र तौल घटाएका कम्पनीहरूले आफ्नो त्यस्तो निर्णय तत्काल सच्याउनुपर्ने उनले बताएका छन्। अब जनतालाई चाउचाउ नखाउ भनेर प्रचार प्रसार गर्न जरुरी रहेको बानियाँको भनाई छ ।

प्रतिक्रिया