गुराँस संरक्षणमा स्थानीयवासी जुटे

बागलुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घोरेपानी–पुनहिलको पर्यटकीय आकर्षण जोगाउन गुराँस संरक्षण अभियान सुरु भएको छ । पर्यटक लोभ्याउने गुराँसे वनको संरक्षणमा होटल–पर्यटन व्यवसायी जुटेका हुन् । म्याग्दीको घार गाविसमा पर्ने गुराँसको घना जङ्गल पर्यटकको प्रमुख गन्तव्य हो । हिमाली दृश्य, गुराँस र सूर्योदय अवलोकनका लागि बर्सेनि हजारौँ पर्यटक घोरेपानी–पुनहिल पुग्ने गर्छन् ।

कटान, खुल्ला चरन र काठ–दाउरा चोरीले गुराँस नासिँदै जान थालेपछि संरक्षण योजना ल्याइएको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनमगरले बताए । ‘केही वर्षअघिदेखि गुराँस संरक्षण योजना सुरु गरेका हौँ, चरिचरनदेखि कटान सबै नियन्त्रण गरेका उनले बताए । पदमार्ग छेउछाउका नाङ्गा भू–भागमा समेत बर्सेनि सयौँ नयाँ गुराँसका बिरुवा रोप्ने गरिएको छ । मुख्यगरी पशु चौपाया र वन्यजन्तुको खुल्ला चरनका कारण गुराँसको नयाँ बिरुवा हुर्कन नसकेको व्यवसायी पुनमगरको भनाइ छ । त्यस्तो अव्यवस्थित चरनलाई रोक्न तार–जाली लगाउन सुरु गरिएको छ । काठदाउराको रूपमा गुराँसको बोट काट्न जो कोहीलाई पूर्णरूपमा बन्देज लगाइएको छ ।

राष्ट्रिय फूलसमेत रहेको गुराँसको संरक्षण नगरे घोरेपानी क्षेत्रको पर्यटन व्यवसाय नै धरापमा पर्ने व्यवसायीहरूको भनाइ छ । होटल व्यवस्थापन समिति, घोरेपानीका अध्यक्ष जुनु पुनका अनुसार फागुनदेखि वैशाखसम्मको मुख्य याममा घुम्न आउने पर्यटक गुराँस अवलोकन गर्न रुचाउँछन् । विभिन्न प्रजातिका रङ्गीविरङ्गी गुराँसले पर्यटकलाई आकर्षित गर्ने गरेको उनको भनाइ छ ।

गुराँस संरक्षण अभियान चले पनि स्वतःस्फूर्त रूपमा काठदाउरा कटान, खुल्ला चरन रोकिएको अध्यक्ष पुनले प्रस्ट पारे । कतिपय ठाउँमा गुराँस काट्नेलाई जरिवाना गर्ने व्यवस्था भए पनि घोरेपानीमा त्यसो गर्नु नपरेको व्यवसायीहरूको भनाइ छ । समुद्री सतहदेखि २८७४ मिटरको उचाइमा रहेको घोरेपानी र तीन हजार२१० मिटरको उचाइमा रहेको पुनहिल क्षेत्रमा घना गुराँसको जङ्गल छ । कतिपयले संसारकै ठूलो गुराँस फुल्ने क्षेत्रका रूपमा घोरेपानीलाई लिने गरेको ‘स्नो भ्यू’ होटल एण्ड रेस्टुराँका सञ्चालकसमेत रहेका बद्धुजा पुनमगरले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घार, शिखबाहेक त्यस आसपासका गाविस नागी, हिस्तानलगायतका ठाउँमा पनि गुराँसे जङ्गल छ । पछिल्लो समय पर्यटकीय क्षेत्रमा रहेका गुराँसको वनलाई जोगाउन थालिएको छ । गुराँस संरक्षण, विस्तारसँगै पर्यटकीय आकर्षण जोगाउन संरक्षण योजना ल्याउनुपरेको होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए ।

पर्यटन प्रवद्र्धनकै लागि गुराँस फुल्ने क्षेत्रमा ‘गुराँस महोत्सव’ गर्ने प्रचलन पनि सुरु भएको छ । म्याग्दीकै अर्को पर्यटकीय क्षेत्र टोड्केमा आउँदो याममा गुराँस महोत्सव गर्ने तयारी गरिएको छ । यता, बागलुङको घुम्टे लेकमा पनि गुराँस महोत्सव गर्ने गरिएको छ । (सौस)

प्रतिक्रिया