डिस्चार्ज हुन मान्दैनन् महतो

Untitled-1 copyकाठमाडौं, १५ पुस । शरीरमा कुनै गम्भीर चोट नभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अवस्था सामान्य छ । तर, उनी गत पाँच दिनदेखि अस्पतालमै छन् । बिराटनगरको गोल्डेन अस्पतालले उनलाई तीन दिन अगाडि नै डिस्चार्ज गरेको थियोे ।

स्रोतका अनुसार अस्पतालले डिस्चार्ज गर्दा महतो असन्तुष्ट बनेका थिए । ‘मलाई अझै रिंगटा लागिरहेको छ, यति चाँडै डिस्चार्ज गरिदिने ?’ भन्दै उनले अस्पतालका चिकित्सकलाई असन्तुष्टि पोखेका थिए ।

डिस्चार्ज भएर बिराटनगरमा बस्न नमिल्ने अवस्था आएपछि महतोले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विपी दासको सहयोग मागेको स्रोत बताएको छ । स्वास्थ्यमन्त्री हुँदादेखि दाससित महतोको राम्रो सम्बन्ध थियो । दासले तत्कालै बिराटनगरबाट उनलाई धरानमा झिकाए र भर्ना गरे । त्यसपछि महतो अहिले ढुक्क बनेका छन् । अहिले उनलाई क्याबिनमा सारिएको छ । अझै केही दिन अस्पताल बसाइ लम्ब्याउने महतो र दासको समझदारी छ ।

मंगलबार धरानका केही पत्रकार महतोको अवस्था बुझ्न जाँदा उनले अलास–तलास परेको अभिनय गर्दै बोलीसमेत सानो बनाएको एक पत्रकारले बताए । पत्रकारहरूसित उनी खासै बोल्न मानेनन् । यद्यपि अरूबेला भने उनी आफूलाई भेट्न आउने कार्यकर्ता र अस्पतालका कर्मचारी तथा नर्सहरूसित सामान्य अवस्थामै गफ गरेर बस्ने गरेको स्रोतको भनाइ छ ।

अस्पतालबाट डिस्चार्ज हुन महतो अनिच्छुक बन्नुमा उनको उद्देश्य महिनौदेखिको धर्ना बसाईको थकाई मेट्नु , सुगर र प्रेसरको उपचार सरकारबाट गराउनु र आन्दोलन चर्काउनुमा साथै सरकारले चकोृ दमन गरेको संदेश प्रवाह गर्नु रहेको अनुमान गरिएको छ ।

नाकाबन्दी कडा बनाउने भन्दै महतो शनिबार वीरगञ्जबाट बिराटनगर पुगेका थिए । जोगबनीबाट केही कार्यकर्ता लिएर नारावाजी गर्दै नेपालतिर आएका उनी रानी भन्सार नाकाको मुखैमा कार्यकर्तासहित धर्ना बसे ।

यसअघि मोर्चाले धर्ना दिँदै आएको ठाउँभन्दा सय मिटर वरै बसेपछि प्रहरीले उनीहरूलाई हटाउन सामान्य बल प्रयोग ग¥यो । त्यसपछि दुबै पक्षबीच झडप भयो । झडपका क्रममा महतोसहितका दुई÷तीन जनालाई केही प्रहरीले घेरेको र एक प्रहरीले लाठी हानेको दृश्य इन्टरनेटमा फैलिएको भिडियो फुटेजमा देखिन्छ । भिडियोमा देखिएका व्यक्तिको पोशाकका आधारमा उनी महतो नै हुन् भन्ने अनुमान गर्न सकिए पनि अनुहार चिनिँदैन । सो भिडियो फुटेज रानी भन्सारको सीसीटीभीले कैद गरेको बताइन्छ ।

गृहमन्त्री शक्ति बस्नेतले भने उक्त भिडियोको आधिकारिकतामाथि प्रहरीले अध्ययन गरिरहेको बताएका छन् । ‘मैले पनि भिडियो हेरेको छु, तर त्यसमा राजेन्द्र महतोको प्रष्ट अनुहार देखिएको छैन,’ मन्त्री बस्नेतले भने, ‘विगतमा पनि धेरै किसिमका नक्कली र भ्रामक भिडियोहरू इन्टरनेटमा भाइरल बनेका उदाहरण छन्, त्यसैले यसको सत्यतामाथि हामी अनुसन्धान गर्दैछौं ।’ भिडियोमा महतोको टाउको वा शरीरमा प्रहरीको लाठी लागेको प्रष्ट देखिएको छैन ।

सो झडपका क्रममा महतोलाई कार्यकर्ताले जोगाएर भारतको जोगवनीतर्फ लगेका थिए । महतोसहित कार्यकर्ताहरू जोगवनीमा पुगेपछि नेपालतर्फ ढुंगा हान्ने क्रम सुरु भयो । तर, विगतको शैली विपरीत यसपटक भारतीय एसएसबीले नै प्रदर्शनकारीलाई त्यहाँ टिक्न दिएन । एसएसबीले लाठीचार्ज गरेपछि उनीहरू भागाभाग भए ।

भारतको जोगवनीतर्फ लागेको करिब आधा घन्टापछि महतोसहित नौ जना घाइतेलाई एम्बुलेन्समा राखेर नेपालतर्फ ल्याइएको गृहमन्त्री बस्नेतको दाबी छ ।

यदि महतो नेपाल प्रहरीकै लाठीबाट घाइते भएका थिए भने किन अस्पताल नगएर भारतको जोगवनीतर्फ गए ? हिँड्दै जोगवनी गएका उनलाई आधा घन्टापछि एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याइनुले उनले टाउकोमा भारतीय प्रहरीको लाठी लागेको हुन सक्ने सरकारी अधिकारीहरूको आशंका छ । रक्सौल नाकामा राजेन्द्र महतो एसएसबीका लागि चिर परिचित भए पनि जोगवनीमा सायद उनी नौला थिए । घटनापछि सदभावना पार्टीका महासचिव मनिष सुमनले जारी गरेको विज्ञप्तिमा नेपाल प्रहरीले ताकीताकी लाठी र बुट प्रहार गर्दा महतोको टाउकोमा चोट लागेको उल्लेख गरेका थिए ।

बिराटनगरको गोल्डेन अस्पतालको आइसीयूमा राखिएका महतोलाई जाँचका क्रममा ठूलो चोट भने कतै पनि देखिएन । अस्पतालमा महतोलाई भेटेका पत्रकारले डाक्टरलाई उधृत गर्दै जनाएअनुसार टाउकोमा सामान्य डामबाहेक शरीरमा चोटपटक थिएन । सिटीस्क्यानले उनको टाउको पनि सद्दे देखाएको थियो । बरु सुगर र प्रेसरले महतोलाई सताएको चिकित्सकहरूले बताएका थिए ।

तर, के महतो कुनै गम्भीर चोटपटकबिनै टाउकोमा पट्टी बाँधेर सुगर र प्रेसरको उपचार गराइरहेका छन् त ? आखिर भिडियो फुटेजमा भने सेतो कपडामा खूनसमेत आएको देखाइएको थियो ।

प्रतिक्रिया