लुटेराको चक्कु प्रहारबाट दुई घाइते

गौर । लुटेराको समूहले मंगलबार गौर, चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गढवामा काठमाडाँैबाट घर फर्कंदै गरेका दुई जनालाई चक्कु प्रहार गरेको छ । ती दुवै सख्त घाइते भएका छन् । लुटेरा समूहले उनीहरूका साथबाट १५ हजार रुपैयाँ लुटेको छ ।

उनीहरू काठमाडौँबाट चन्द्रनिगाहपुर आएर मोटरसाइकलमार्फत गन्तव्यस्थलतर्फ जाँदै थिए । चक्कु प्रहारबाट धरमपुर गाविस–५ बस्ने मंकर गिरी र भारत विहार घर भएका पंकज जयसवाल घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा लुटेराले जथाभाबी चक्कु प्रहार गरेका थिए । उनीहरूको गौर अस्पतालमा उपचार भइरहेको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड तथा ग्रामीण भेगका सडकखण्डमा केही सातायता लुटपाटका घटनामा वृद्धि भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । प्रहरीको ध्यान हाल तराई मधेसमा जारी आन्दोलनमा केन्द्रित रहेका कारण पनि राजमार्ग क्षेत्रमै लुटपाटलगायत आपराधिक गतिविधिमा वृद्धि भएको जिप्रका, रौतहटले जनाएको छ ।

जिप्रका, रौतहटका प्रवक्ता राजेन्द्र पोखरेलले आन्दोलनका कारण आपराधिक गतिविधि वृद्धि भएको बताउँदै अपराध हुने सम्भावित क्षेत्रमा प्रहरीले निगरानी गर्न सुरु गरेको जानकारी दिए । (सौस)

प्रतिक्रिया