प्याङ बन्यो घरभित्रको धुँवामुक्त गाविस

dhuwamukta pyangइलाम, १३ पुस । इलामको प्याङ गाउँ विकास समिति घरभित्रको धुँवा प्रदुषणमुक्त बनेको छ । उक्त गाविसका सबै घरमा धुँवारहित सुधारिएको चुल्हो निर्माण भएपछि आइतबार घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको हो । जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले प्याङ गाविसलाई जिल्लाको आठौँ धँुवामुक्त गाविस घोषणा गरेका हुन् ।

गाविसलाई घरभित्रको धुँवा प्रदुषणमुक्त बनाउन प्याङबासी गत वर्षदेखि सक्रिय भएर लागेका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र जिल्ला विकास समिति र नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा अभियान सञ्चालन गरिएको थियो । गाविसमा ६ सय ४ वटा धुँवारहित आधुनिक सुधारिएको चुल्हो निर्माण भएका छन् । अभियान अघि २ सय ७० सुधारिएको चुल्हो निर्माण भएका थिए । अभियानका क्रममा ३ सय ३४ वटा नयाँ चुल्हो निर्माण भएको सामाजिक परिचालक श्यामकुमारी थेवेले जानकारी दिइन् । अभियानको सुरुआतमा गाविसले १२ जनालाई चुल्हो प्रमोटर (स्टोभ मास्टर) तालिम दिई अभियान सञ्चालन गरिएको गाविस सचिव वीरध्वज लिम्बूले जानकारी दिए । यसका लागि ७० हजार ४ सय रुपैयाँ गाविसले खर्चेको थियो ।

गाविसले उत्पादन गरेका १२ र १ जना साँखेजुङबाट ल्याई १३ जना प्रमोटर चुल्हो बनाउने अभियानमा लागेका थिए ।

एउटा चुल्हो बनाउँदा बढीमा २ हजार रुपैयाँ खर्च लागेको थियो । चुल्हो बनाए वापत प्रमोटरलाई १ हजार ५ सय रुपैयाँ ज्याला घरमालिकले तिर्नुपर्ने गरी गाविसले शुल्क निर्धाण गरिदिएको थियो । यसरी अभियानका क्रममा निर्माण भएका ३ सय ३४ चुल्हो निर्माणमा ६ लाख ६८ हजार उपभोक्ताको खर्च भएकोे सचिव लिम्बूले बताए ।

कार्यक्रमका अवसरमा गाविसले उत्कृष्ठ २ स्टोभमास्टरलाई पुरस्कृत गरेको छ । स्टोभमास्टरहरू गोविन्द नेम्बाङ र सुजन थेवे पुरस्कृत भएका हुन् । त्यस्तै अभियानमा सक्रिय सहभागी भई सहयोग गरेका सामाजिक परिचालक श्यामकुमारी थेवे र अनिता थेवेलाई प्रशंसापत्र प्रदान गरिएको थियो । स्टोभमास्टारसहित अभियानलाई सहयोग गरेका वडा नागरक मञ्च र संघसंस्थालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रशंसापत्र प्रमुख अतिथी जिल्ला विकास समिति इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले प्रदान गरेका थिए ।

गाविस सचिव वीरध्वज लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि योजना अधिकृत खतिवडा, जिल्ला वनस्पति कार्यालयका प्रमुख कृष्णराम भट्टराई, महिला तथा बालबालिका कार्यालयका प्रतिनीधि भवानी घिमिरे, नामसालिङ सामुदायिक विकास केन्द्रका पोषराज निरौला, जिविस ऊर्जा शाखाका प्रमुख कपिलदेव यादव, मानव अधिकार मञ्चका सामाजिक परिचालन कार्यक्रम संयोजक राम योङहाङ, पत्रकार विजयशेखर भट्टराई, स्थानीय राजनीतिक दलका तर्फबाट भवानी लिङ्दम, महिलाका तर्फबाट लोकमाया थेवे, प्याङ माविका शिक्षक टीका अधिकारी, वडा नागरिक मञ्चका ललितबहादुर थेवे लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज हिमाल भण्डारीले स्वागत र नामसालिङ सामुदायिक विकास केन्द्रका प्रकाश खतिवडाले सञ्चालन गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले सुधारिएको चुल्हो निर्माणले वातावरणीय र स्वास्थ्यमा सुधार आउनुका साथै लंैगिक समानतामा समेत सुधार आएको बताए । उनीहरूले ग्रामीण गृहिणी महिलाहरूमा धुँवाका कारण लाग्ने श्वासप्रश्वास र आँखासम्बन्धी रोगहरूमा न्यूनीकरण हुने भन्दै चुल्होको दिगोपना र निरन्तरतामा जोड दिएका थिए । सुधारिएको चुल्होले वन विनास घट्ने, महिला स्वास्थ्यमा कम असर हुने, समयको बचत हुने, जैविक विविधतामा फाइदा पुग्ने तथा कार्वन उत्सर्जनमा समेत कमी आई वातावरणीय सुधारमा टेवा पु¥याउने भन्दै यो अभियान प्रभावकारी भएको बताएका थिए ।

जिविसले सन् २०१७ सम्ममा जिल्लालाई घरभित्रको धुँवाप्रदुषण मुक्त बनाउने उद्देश्यले अभियानलाई तीव्रता दिएको छ । यसअघि इलामका गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ र जितपुर जिल्लाको धँुवा प्रदुषणमुक्त घोषणा भइसकेका छन् ।

प्रतिक्रिया