शिल्पीमा ‘उल्टो’

Ulto_theaterकाठमाडौं, १२ पुस । नेपाली समाजमा परिवारभित्र र बाहिर पुरुष नै शक्तिशाली हुने गर्दछन् । एकछिन कल्पना गरौँ त, महिलाको हातमा शक्ति भए कस्तो अवस्था होला ?

राजधानीको शिल्पी थिएटरमा मञ्चन गरिएको नाटक ‘उल्टो’मा पुरुषलाई कमजोर र महिलालाई शक्तिशाली देखाइएको छ । थिएटरमा मञ्चन भइरहेको कलेज थिएटर फेस्टिबल २०१५ मा परम्परागत सामाजिक पद्वतिलाई उल्ट्याएर प्रस्तुत गरिएको छ । महिलाको हातमा शक्ति छ, त्यसैले पुरुष दबिएका छन् । छोरीलाई कमजोर बनाइने हाम्रो समाजको ठीक विपरीत नाटकमा छोरालाई कमजोर देखाइएको छ । महिलाको राज भएको समाजमा पुरुषहरू कसरी अपहेलित हुन्छन् भन्ने कुरा नाटकमा देखियो ।

ठुल्ठूला महिलावादी संस्थाले सायद यसरी कहिल्यै सोच्न सकेनन् तर भर्खरै कलेज पढ्दै गरेका विद्यार्थीले पुरुषप्रधान समाजलाई बलियो झटारो हानेका छन् । सामान्यतया कुनै पनि पुरुषले आफूलाई महिलाको स्थानमा राखेर हेर्दैन । तर, यो नाटक हेरेपछि उसले महिलाको पीडा अवश्य महसुस गर्नसक्छ । नाटक हेरेर बाहिर निस्केका युवाको भीडमा एकजनाको आवाज सुनियो, ‘साँच्चै आज फिल भयो, केटीहरूलाई कस्तो हुन्छ भनेर ।’ महिलाका विषयमा बनेका कुनै पनि नाटक वा चलचित्रमा यस्तो परिवेश देखाउन सकिएको थिएन । तर, आजको पुस्ता केही फरक सोच्छ भन्ने कुराको प्रमाण यो नाटकमा देखाइको छ । नाटकमा श्रीमतीको कमाइमा पूरै घर चल्छ । श्रीमान् घरको भातभान्छा गर्छ, छोरीलाई जता गए पनि स्वतन्त्रता छ तर छोरालाई अंकुश लगाइन्छ । सधैँ शक्तिको पहुँचवाला मानिने पुरुषलाई यो अवस्थामा देख्दा दर्शकलाई घत नलाग्ने त कुरै भएन । करिब ४० मिनेटको नाटकले दर्शकलाई मरिमरि हँसाउने काम मात्र हैन, समाजलाई चोटिलो सन्देश पनि दिन खोजेको छ । नाटकको निर्देशन याङ्की शेर्पाले गरेकी हुन् । नाटकको मुख्यपात्रका रूपमा प्रस्तुत भएका सुवाञ्जनको अभिनय कुनै व्यावसायिक कलाकारको भन्दा कम थिएन ।

प्रतिक्रिया